वासिङ्टन असार २३ । अमेरिकी विश्वविद्यालयले कोरोना महामारीका कारण अनलाइन कक्षा सुरु गरेसँगै त्यहाँ अध्यननरत विदेशी विद्यार्थी फर्काउने भएको छ ।
सोमबार अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले अमेरिकामा हाल अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थी स्वदेश फर्कनुपर्ने बताएको छ ।
यो निर्णयसँगै अमेरिकामा अध्ययनरत हजारौं विद्यार्थी, विभिन्न तालिममा सहभागी हुन गएका विदेशी विद्यार्थीहरु प्रभावित हुने देखिएको छ ।
कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएसँगै अधिकांश अमेरिकी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुले अनलाइन कक्षा सुरु गरेका छन् । विश्वकै प्रतिष्ठित हार्वड विश्वविद्यालयले क्याम्पस परिसरमा रहेका विद्यार्थीलाई समेत अनलाइनमार्फत पढाइरहेको छ ।
आईसीईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस शैक्षिक सत्रमा भर्ना भएर अनलाइन कोर्स गरिरहेका विद्यार्थीलाई भिसा जारी नगर्ने घोषणा गरेको हो । आईसीईले अहिले अनलाइनमार्फत पढिरहेका विद्यार्थीलाई पनि भौतिक रुपमै उपस्थित भएर पढाइ हुने कलेज तथा विश्वविद्यालयमै ट्रान्सफर गर्न सुझाव दिएको छ ।
एक पछि अर्को आप्रवासीमाथि र विदेशी विद्यार्थीमाथि ट्रम्प प्रशासनले कठोर कदम चाल्दै गएको छ । जसले त्याहाँ रहेका वा जान चाहेका थुप्रै मानिसहरु प्रभावित बन्न थालेका छन् ।