काठमाडौँ, २३ असार । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छिन् । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवासमा पुगेर भेटेकी हुन् ।
भेटमा समसामयिक विषय र आपसी सम्बन्धका विषयमा कुराकानी भएको स्रोतले बताएको छ ।
नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहेको बेला चिनियाँ राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई प्राथमिक्ता दिएकी हुन् ।
नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेपाललाई कोटेश्वर पुगेर चिनियाँ राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
उक्त भेटघाटलाई दुवै पक्षबाट नियमित भनिए पनि नेकपाभित्रको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय रहेको राजनीतिक विश्लेषक बताउँछन् ।
यसअघि राजनीतिक दलविभाजनसम्बन्धी र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश प्रकरणमा नेकपाभित्र विवाद चर्किँदा चिनियाँ राजदूत होउले वैशाख १९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।
राजदूत यान्छीले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाईसमेत भेटेकी थिइन् ।
असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग आएसँगै नेकपा विवादमा होमिएको हो ।