असार २२ काठमाण्डौं । कोरोना संक्रमणको जोखिमका बीच पनि काँग्रेसले महाधिवेशन निर्धारीत मितिमै गर्ने निर्णय गरेको छ । आज बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशन फागुण पहिलो सातामै गर्ने निर्णय गरेको हो ।
सदस्यता वितरण, भातृृ संगठनहरुको महाधिवेनहरु हुन नसकेको जस्ता समस्याकाबीच पनि महाधिवेशनको समय नसारिएको हो ।
बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट अघि बढाएको नागरिकता विधेयक १६ गतेकै बैठकले फिर्ता लिनुपर्ने निर्णय गरेको थियो ।
महाधिवेशनका लागि नयाँ प्रस्तावित तालिकामा क्रियाशील सदस्यताको नवीकरण, वितरण र छानविन प्रकृया सकेर मंसीर मसान्तभित्र सम्पूर्ण सूची निर्वाचन आयोगलाई बुझाई सक्नुपर्ने उल्लेख छ । पार्टीका अन्तरिम संरचनासमेत अझै समायोजन भइसकेका छैनन् । जसले महाधिवेशनको तयारी अघि बढाउन कठिनाई परेको छ । पुरानो राज्य संरचनाका आधारमा रहेको पार्टीका संरचनालाई समायोजन गर्न कांग्रेसले मंसिरदेखि नै सुरु गरेको हो । २६ जिल्लाको समायोजन हुन अझै बाँकी छन् ।
बैठकले समायोजनको काम साउन १० गते भित्र सक्ने लक्ष्य लिएको छ । क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भादौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाईसक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।
क्रियाशील सदस्यतामाथि उजुरी गर्ने समय असोज मसान्त, पुनरावेदनका लाग कात्तिक मसान्त र सम्पूर्ण विवाद टुंगाउनका लागि मंसिर २५ गते सम्मको समय दिइएको छ । क्रियाशील सदस्यताको छानविन गर्नेदेखि विवाद टुंग्याएर अन्तिम सूची निकाल्ने काम पार्टीद्धारा गठित छानविन समितिले गर्छ । तर, अहिलेसम्म त्यस्तो समिति बनेको भने छैन । मंसीर मसान्तभित्र क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाए पछि वडा स्तरीय अधिवेशन शुरु गर्ने काँग्रेसको कार्यतालिका छ ।
यस्तो छ कार्यतालिकाः
केन्द्रीय अधिवेशन फागुन ७, ८, ९ र १० गते ।
गाउँ रनगर, वडा अधिवेशन ०७७ पुस ६ गते
गाउँरनगरपालिका अधिवेशन ०७७ पुस ८ गते
प्रदेशसभा क्षत्रीय अधिवेशन ०७७ पुस ११ गते
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको
जिल्लाका अधिवेशन ०७७ पुस १३
एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १६
प्रदेश अधिवेशन माघ ६ गते ।