को बन्ला अबको आईजिपी ?

को बन्ला अबको आईजिपी ?

  • मङ्लबार, असार १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.7K
    SHARES

असार १५ काठमाडौं । प्रहरी प्रमुख ठाकुर प्रसाद ज्ञवाली अबको केही दिन पछि अनिवार्य अवकाशमा जादै छन् । उनी त्यसै पनि लामो समय आईजिपी बन्न पाएनन् कारण हो उमेर हद ।
यति नै बेला को आईजिपी बन्ने भन्ने चर्चा र पुर्वानुमानहरु शुरु भएका छन् ।
वर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने छ ।

धेरै वर्षपछि यसपटक प्रहरीको आगामी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाटै बन्नेछन् । ज्ञवालीसमेत सिधै डिआइजीबाटै आइजिपी भएका थिए ।

ज्ञवालीको अवकाशसँगै अबको प्रहरी प्रमुखका लागि एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल प्रतिस्पर्धामा छन् । दुई एआइजीमध्ये एक जना महानिरीक्षक बन्नेछन् ।

तारणीप्रसाद लम्साल पनि एआइजी हुन् । तर, उनी पनि आइजिपी ज्ञवालीसँगै २४ असारमा नै अनिवार्य अवकाश हुने भएकाले थापा र पालमध्येबाट एक जना आइजिपी बन्ने भएका हुन् ।

हाल एआईजीको वरीयतामा लम्साल पहिलो नम्बरमा छन् । थापा दोस्रो र पाल तेस्रो नम्बरमा छन् । नेपाल प्रहरीमा एआइजीका दरबन्दी तीन वटा मात्रै छन् ।

प्रहरी संगठनमा एकै मितिमा  १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

थापाले डिआइजी रहँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखका रूपमा रहेर राजधानीको सुरक्षाको नेतृत्व सम्हालिसकेका छन् । उनले दुई पटकसम्म प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका छन् ।

थापाले एसपी हुँदा झापा, कास्की र धादिङ जिल्लाको कमान्ड सम्हालेका थिए । हाल उनी मानव स्रोत एवं प्रशासन विभागका प्रमुख छन् ।

यसैगरी पालले डिएसपी रहँदा डडेल्धुरा र नुवाकोटको कमान्ड सम्हालेका थिए भने एसपी हुँदा कास्की, रूपन्देही र धनुषाको कमान्ड सम्हालेका थिए । यस्तै, एसएसपी हुँदा अञ्चल प्रहरी कार्यालय कोसीमा रहेर उनले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

यसैगरी, पालले डिआईजी हुँदा प्रदेश २ को प्रहरी प्रमुख र विशेष ब्युरोलगायतमा नेतृत्व गरिसकेका छन् । हाल उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुखका रूपमा कार्यरत छन् ।

दार्चुलाका पालले सुदूरपश्चिमबाटै सेवा सुरु गरेका हुन् भने भक्तपुरका थापाले प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सेवा सुरु गरेका हुन् । यस बीचमा पाल दुई र थापा तीन देशमा मिसनमा समेत गएका छन् । पाल पूर्वी टिमोर र इराक गएका थिए भने थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा खटिएका थिए ।

नयाँ आइजी नियुक्तिको मिति नजिकिँदै जाँदा सरकारले समेत सोबारे तयारी थालेको छ । सरकारका एक मन्त्रीले नयाँ महानिरीक्षक आउने प्रक्रिया स्वाभाविक भएको र यसपटक पहिले जस्तो फोहोरी खेल नहुने बताए ।

‘नयाँ महानिरीक्षक यसपटक एआइजीमध्येबाटै बन्ने पक्का छ, पहिले जस्तो फोहोरी खेल हुँदैन । व्यावसायिक प्रहरी अधिकृत नै महानिरीक्षक बन्नेछन्,’ ती मन्त्रीले राजधानीसँग भने ।

आइजिपीको दाबेदारका रूपमा रहेका एआइजी थापा र पाल दुवै संगठनको मर्यादा जोगाउँदै भावी नेतृत्वलाई स्विकार्ने बताउँछन् ।

‘नेतृत्वमा जो आए पनि प्रहरी संगठनको साख र मर्यादालाई कम हुन दिँदैनौं । यो स्वाभाविक प्रक्रिया हो, संगठनको गरिमामा आँच आउने काम हुन दिन्नौं,’ आइजिपीका दाबेदार थापाले भने ।

अर्का दाबेदार पालले समेत संगठनको गरिमा र उचाइलाई बचाउने गरी आफूहरू अघि बढिरहेको बताए । ‘संगठनको उचाइ र गरिमालाई कम हुन दिँदैनौं । नेतृत्वमा जो आए पनि मिलेरै अघि बढ्ने हो,’ प्रहरी प्रमुखका दाबेदार एआइजी पालले भने ।

जो आए पनि उनीहरूको अवधि १८ वैशाख २०७९ सम्मका लागि हुनेछ ।
नयाँ आईजिपी सामु पनि निर्मला हत्या काण्डका दोषी पत्ता लगाउने लगायत थुप्रै चुनौतीहरु रहने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ