काठमाडौँ असार १० । सत्तारुढ नेकपाको आजको स्थायी समितिको बैठकमा दुई जना अध्यक्ष बोले पछि स्थगति गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गरेका थिए ।
बैठकले छलफलका लागि सात एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आज एजेण्डा तय गर्ने र अध्यक्षद्वयले धारणा राख्ने काम भयो । अब अर्को बैठकमा असार १२ गते बस्ने र सबै सदस्यहरुले खुलस्त आफ्ना धारणा राख्ने सहमति पछि बैठक सकिएको श्रेष्ठले बताए ।
बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारका कामको समीक्षा, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध गरी सात एजेण्डा तय भएका छन् ।
यसै गरी संघ र प्रदेशका सांसदहरुले बैठक भत्ता नलिने बिषयमा अन्य पार्टीहरुसगँ छलफल गर्ने पनि निर्णय भएको छ । यस अघि सरकारी कर्मचारीको भत्ता कटौती गरिएको थियो ।
निकै बिबादीत बनेको एमसीसीको एजेण्डामा आज छलफल हुन पाएन । यस बारेमा अर्को बैठकमा छलफल हुने छ ।
एमसीसी जसरी पनि पारीत गर्ने पक्षमा अध्यक्ष ओली लगायतका केही नेता रहेका छन् भने झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावका आधारमा परिमार्जन पछि मात्रै पारीत गर्नु पर्ने पक्षमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र अन्य नेताहरु रहेका छन् ।