सुदूरपश्चिम प्रदेशः राजधानी स्थापनामा ढिलाइ, यस्तो छ कारण

सुदूरपश्चिम प्रदेशः राजधानी स्थापनामा ढिलाइ, यस्तो छ कारण

  • आइतवार, असार ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

धनगढी, ७ असार । सुदूरपश्चिम प्रदेशसभाले कैलालीको तेघरीमा प्रदेशको स्थायी राजधानी स्थापना गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको लामो समय भइसकेको छ । तर तोकिएको स्थलमा पूर्वाधार निर्माणका लागि प्रारम्भिक चरणको काम अझै शुरु हुन सकेको छैन ।

निर्देशनालयका निर्देशक हेमराज विष्टले बजेट अभावमा राजधानी स्थापना गर्नेसम्बन्धी कुनै काम अघि बढ्न नसकेको बताउनुभयो । “बजेटको व्यवस्था भएपछि काम अघि बढ्छ”, विष्टले भन्नुभयो, “बजेट छुट्याएको भए आगामी आर्थिक वर्षदेखि निर्माणस्थलमा प्ररम्भिक चरणको काम शुरु हुन्छ ।”

प्रदेश सभाले गोदावरी नगरपालिका वडा नं २ र ४ को बीचमा पर्ने तेघरीको जङ्गल क्षेत्रमा स्थायी राजधानी बनाउने र प्रदेशको नाम सुदूरपश्चिम प्रदेश राख्नेसम्बन्धी प्रस्तावलाई दुई तिहाइ मतले पारित गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव किशोरकुमार चौधरीले प्रदेश सरकारले राजधानी स्थापना गरिने ठाउँको जग्गाको भोगाधिकार लागि नेपाल सरकारलाई लेखी पठाएकामा अहिलेसम्म त्यसको जवाफ नआएको बताउनुभयो ।

चौधरीले भन्नुभयो, “प्रदेश सरकारले प्रदेश राजधानी पूर्वाधार निर्माण विकास समिति(गठन) आदेश २०७६ जारी गरी स्वीकृतसमेत गरिसकेको छ ।” गठन आदेश २०७६ मा मुख्यमन्त्री अध्यक्ष रहेको आन्तरिक मामिला तथा कानूनमन्त्री, भौतिक पूर्वाधारमन्त्री, अर्थिक मामिला तथा योजनामन्त्री, सामाजिक विकासमन्त्री, प्रदेशका प्रमुख सचिव सदस्य र कार्यकारी निर्देशक सदस्य सचिव रहेको प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन गरिएको उल्लेख छ ।

जङ्गल मासेर राजधानी स्थापना गर्ने निर्णय गरिएको भन्दै सोविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेपछि प्रदेश सरकारले त्यसका कारण पनि पेश गरेको थियो ।

यो मुद्दामा सर्बोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले काम कारवाही अगाडि बढाउन कुनै बाधा अवरोध नहुने कानून सचिव चौधरी बताउनुहुन्छ । सरकारको कमजोरीका कारण लामो समयसम्म पनि राजधानी बन्नमा ढिलाइ भइरहेको टिप्पणी प्रदेशसभाका सदस्य श्यामलाल राना थारु गर्नुहुन्छ ।

राजधानी निर्माण हुने स्थल र प्रदेश नाम राख्न सुझाव दिन प्रदेशसभामा गठन गरिएको सुझाव समितिका संयोजक तारालामा तामाङ जे काम गर्दा पनि ढिलाइ गर्ने हाम्रो बानीले राजधानी निर्माणमा पनि ढिलाइ भएको बताउनुहुन्छ । सत्तापक्ष नेपाल काम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतकसमेत रहनुभएका तामाङले भन्नुभयो, “ढिलासुस्ती हुँदा राजधानी निर्माण गर्नमा पछि प¥यौँ ।” राजधानी निर्माण गर्ने काममा गति दिन अब संसदीय समिति बनाएर सहजीकरण गर्ने योजना बन्न लागेको तामाङले जानकारी दिनुभयो ।

हालको अस्थायी राजधानी धनगढीदेखि झण्डै १८ किलोमिटरको दूरीमा उत्तरतर्फ चुरे पहाडको फेदीमा रहेको मुख्य तीर्थस्थल गोदावरी नजिक रहेको यो क्षेत्र प्रदेशका पहाडी जिल्लाको मुख्य प्रवेशद्वारका रुपमा रहेको छ । तराई, पहाड र हिमालको सङ्गम भएको प्रदेशको विशिष्ट खालको भौगोलिक विशेषता पनि छ ।

यसैबीच प्रदेशको स्थायी राजधानी स्थापनाको कार्य अगाडि बढाउने कामका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ मा रु दुई करोड ७४ लाख बजेट विनियोजन गरेको छ । यस्ते नेपाल सरकारले पनि सुदूरपश्चिम प्रदेशको राजधानी स्थापना गर्नका लागि बजेट विनियोजन गरेको छ । आगामी वर्षदेखि वातावरणीय प्रभाव मूल्याङ्कन, विस्तृत परियोजना प्रतिवेदनलगायतका कार्य अगाडि बढाइने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ