काठमाडौं, असार ७ । प्रमुख विपक्षी नेपाली कांग्रेसले नागरिकता विधेयकमा फरक मत राखेको छ । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा कांग्रेसले फरक मत राखेको हो ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार भएको छलफलमा कांग्रेस सांसदहरू दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, डा। डिला संग्रौला पन्त, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत दर्ता गराएका हुन् ।
यसअघि कांग्रेस नेताहरूको बैठकले अंगीकृत नागरिकताबारे अहिलेकै व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएको थियो । सत्तारुढ नेकपा भने सात वर्षपछि मात्रै विवाहिता विदेशी बुहारीलाई नागरिकता दिनुपर्ने पक्षमा रहेको छ ।
राज्य व्यवस्था समितिमा प्रस्तावको रुपमा ल्याइएको वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव यसअघि दलीय सहमतिमा बनेको नागरिकता ऐन २०६३ को विपरीत रहेको कांग्रेसको दाबी छ ।
विधेयकप्रति जनता समाजवादी पार्टी पनि विपक्षमा रहेको छ ।