असार ५ । सरकारले आर्थिक वर्ष २०७६–७७ मा सांसदहरुलाई दिएको पैसा खर्च नभएको भए कोरोना कोषमा जम्मा गर्नेगरी नियमावली संशोधन गरेको छ।
असार २ गते बसेको मन्त्रिपरिषद बैठकले सांसद विकास कोषबाट खर्च नभएको रकम सम्वन्धित स्थानीय तह (आयोजना सञ्चालन भएका स्थानीय तह) को कोरोना कोषमा असार १५ सम्म जम्मा गर्नेगरी नियमावली संशोधन गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।
‘यसरी जम्मा भएको पैसा प्रचलित कानुनबमोजिम कोरोनाको उपचार, नियन्त्रण र रोकथाममा मात्र खर्च गर्न पाइने छ,’ मन्त्री खतियवडाले भने ।
चालु आर्थिक वर्षमा निर्वाचित एक सांसदले आफ्नो क्षेत्रमा ६ करोड रुपैयाँ विकास खर्च गर्न सक्नेगरी विनियोजनगरिदै आएको छ ।
थुप्रै नेता , जनस्तरबाट समेत संसद विकास कोषको रकम कोरोना कोषमा हाल्न , यो कोष खारेज गर्न दबाब बढे पनि अर्थमन्त्रीले यस पटक पनि सांसदहरुलाई ६ करोडका दरले विनियोजन गरेका छन् ।