धरान विराटनगरदेखि काठमाण्डौ सम्मका प्रयोगशालाले लिन नमाने पछि सिराहामा स्वाब संकलन नै रोकियो, जोखिम बढ्न सक्ने चिन्ता

धरान विराटनगरदेखि काठमाण्डौ सम्मका प्रयोगशालाले लिन नमाने पछि सिराहामा स्वाब संकलन नै रोकियो, जोखिम बढ्न सक्ने चिन्ता

  • सोमवार, असार १, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

असार १ लाहान । विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गतेदेखि स्वाब सङ्कलन रोकिएको हो ।

“न धरानले लिन मानिरहेको न त विराटनगर, राजविराज, जनकपुर र टेकुले लिन मानेका छन्”, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले भन्नुभयो, “हामीले स्वाब सङ्कलन गरी परीक्षणका लागि खासमा जनकपुर र काठमाडौँ पठाउने हो तर जनकपुरले ‘अहिले स्वाब नपठाउनू’ भनेर पत्र नै पठाएको छ, टेकुले पनि स्वाब नपठाउनू भनेकाले रोकेका हौँ ।”

मुलुकको कुनै पनि प्रयोगशालाले परीक्षणका लागि स्वाबको नमूना लिन नमानेपछि जेठ १९ गतेयता जिल्लामा स्वाब सङ्कलन रोकिएको प्रमुख यादवको भनाइ छ । कोरोना भाइरस तीव्रगतिमा फैलिएको छिमेकी मुलुक भारतबाट दैनिक घर फर्किनेको सङ्ख्या बढ्दै गएको बेला परीक्षणका लागि स्वाब सङ्कलन नै रोकिएपछि कोरोना सङ्क्रमण थप फैलिने जोखिम बढेको प्रमुख यादवले बताउनुभयो ।

‘‘हामीसँग अझै स्वाब सङ्कलन गर्ने किट छ तर न त प्रयोगशालाले स्वाबको नमूना लिन मानेका छन् न त माथिबाट सङ्कलन गर्न निर्देशन नै आएको छ”, प्रमुख यादवले भन्नुभयो, “त्यसैले स्वाब सङ्कलन रोकेर आरडिटी मात्र जाँच गरेर घर पठाउनुपर्ने बाध्यतामा पुगेका छौँ ।”

पछिल्लोपटक सिरहाबाट गत जेठ १७, १८ र १९ गते सङ्कलन गरी पिसीआर परीक्षण गर्न ४२० को स्वाब पठाएकामा हालसम्म १५० को मात्र रिपोर्ट आएको छ । बाँकीको रिपोर्ट अझै आउन सकेको छैन । सिरहाका विभिन्न स्थानको क्वारेन्टिनमा बसेकाहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाइएकाहरुको दुई सातासम्म पनि रिपोर्ट नआउँदा व्यवस्थापनमा समस्या भइरहेको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

गत जेठ १७ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्न पठाएकामा हालसम परीक्षण रिपोर्ट नआउँदा क्वारेन्टिनमा बसेकालाई घर पठाउने वा क्वारेन्टिनमा नै राख्ने भन्ने अन्योल बढ्ेको सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताले बताउनुभयो ।

“दैनिक क्वारेन्टिनमा आउनेको सङ्ख्या बढ्दै गएको छ”, गाउँपालिका अध्यक्ष मेहताले भन्नुभयो, “तर स्वाब लिएकाहरुको समयमा रिर्पार्ट नआएपछि उहाँहरुलाई घर पठाउने कि क्वारेन्टिनमै राख्ने भन्नेमा हामी आफैँ अन्योलमा परेका छौँ ।”

भारतबाट दैनिक घर फर्किनेको लर्कोले जिल्लाका लगभग सबै क्वारेन्टिन भरिभराउ हुन लागेकाले अब आउनेलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती बढेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले बताउनुभयो । “हामीसँग दुई हजार श्ययाको क्वारेन्टिन छ तर अहिलेसम्म करिब एक हजार ५०० भन्दा बढी व्यक्ति क्वारेन्टिनमा छन्”, प्रजिअ गुरागाईँले भन्नुभयो, “दैनिक आउने क्रम बढ्दै गएकाले अबको केही दिनभित्रै ती सबै क्वारेन्टिन भरिन्छन् र त्यसपछि आउनेलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने समस्या आउन सक्छ ।” त्यसैले अब आरडिटी जाँच गरेरै घर पठाउने गरी तयारी गरिरहेको प्रजिअ गुरागाईँले बताउनुभयो ।

हालसम्म सिरहामा एक हजार ८४९ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ६४ जनाको पोजेटिभ र एक हजार ४४३ जनाको निगेटिभ गरी कूल एक हजार ५०७ जनाको मात्र परीक्षण रिर्पोट आएको छ भने ३४२ जनाको रिर्पोट अझै आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

आरडिटी किटबाट कूल एक हजार ७७७ जनाको परीक्षण गरिएकामा ६७ जनाको पोजेटिभ र एक हजार ७१० जनाको रिर्पोट निगेटिभ आएको जनाइएको छ । सिरहामा हालसम्म कोरोना भाइरस सङ्क्रमित ६४ मध्ये २० जना उपचारपश्चात निको भई घर फर्किसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ