जेष्ठ ३१, काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा देशभर दीप प्रज्वलन गरिएको छ ।
शनिवार साझ काठमाडौंको सहिद गेटमा राष्ट्रिय झन्डासहित जम्मा भएका केही युवाहरुले नयाँ नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका छन् । काठमाडौंको गौशाला, रातो पुल लगायतका स्थानमा पनि दीप प्रज्वलन गरिएको थियो । संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको थियो ।

यस्तै विराटनगरको जनआन्दोलन चोकमा साँझ दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन मोरङद्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेतीलगायत नेता कार्यकर्ताले नेपालको नक्शामा मैनबत्ती बाली दीप प्रज्वलन गरेका थिए ।

त्यस अवसरमा सर्वसाधारणले पनि दीप प्रज्वलन गरेका थिए । यसैगरी जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि, वरागाछीसमेतमा नक्शा अङ्कित निशान छाप पारित भएको खुशीमा दीप प्रज्वलन गरिएको छ । खुशियाली मनाउन सर्वसाधारण नागरिकले आफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।
यस्तै स्याङ्जामा पनि दिपावली गरिएको छ । जिल्ला सदरमुकामस्थित शहीद चोकमा दीपावली गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष सूर्यप्रसाद गैह्रे पारले जानकारी दिनुभयो । यसैगरी वालिङ उद्योग वाणिज्य सङ्घले पनि दीपावली गरेको छ ।

उता, दमौलीमा संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दीप प्रज्वलन गरेको छ । भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित भएसँगै नेपाल कम्युनिष्ट पार्टीले दमौलीस्थित मुख्यचोकमा दीप प्रज्वलन गरेको हो ।