जेष्ठ २८ काठमाण्डौं । नेपाललाई तिव्वतले जस्तो गल्ती नगर्न र राजनीतिक नक्सा निकाल्नु भन्दा पहिला परिणाम के हुन्छ भनेर सोच्नु भनेर धम्की दिने भारत उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथलाई प्रधानमन्त्री ओलीले कडा चेतावनी दिएका छन् ।
योगीले केही भारतीय सञ्चारमाध्यमहरुमा नेपालले राजनीतिक सीमा तय गर्नु भन्दा पहिले त्यसबाट सिर्जना हुने परिणामको बारेमा सोच्न चेतावनी दिएका थिए ।
आजको ससदको बैठकलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले आदित्यनाथको अभिव्यक्ति निन्दनीय भएको बताए ।
प्रधानमन्त्री ओलीले आदित्यनाथलाई नेपाललाई नहेप्न चेतावनी दिदै , नेपाल हेपिने मुलुक नभएको स्पष्ट सन्देश दिएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसरी बोल्नु भएको भए त्यो जायज होइन । यदि उहाँले नेपाललाई धम्काउन खोज्नु भएको हो भने उचित होइन ।’ योगी आदित्यनाथ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि नभएको ओलीले स्पष्ट पारे ।
“यदि उहाँले नेपाललाई धम्क्याउन खोज्नु भएको हो भने त्यो निन्दनीय विषय हो । त्यसलाई नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।”
केही दिनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सीमा विवादबारे विवादित अभिव्यक्ति दिएका थिए ।
उनले नेपाललाई राजनीतिक सीमा तय गर्नुभन्दा पहिले त्यसबाट पर्ने प्रभावका बारेमा ध्यान दिनु आवश्यक रहेको भन्दै धम्क्याउने कोशिस गरेका थिए ।