भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना सङ्क्रमणको आशङ्कामा सेवा बन्द

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना सङ्क्रमणको आशङ्कामा सेवा बन्द

  • सोमवार, जेष्ठ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो ।

सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन् । महिलाको आरडिटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको थियो ।

मृत्युपछि कोरोनाको आशङ्कामा आइतबार राति करिब ९ बजे स्वाब लिइ पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पिसिआर रिपोर्ट नआएसम्म केही भन्न नसकिने जानकारी दिनुभयो । उहाँले अस्पतालमा भने विशेष सजगता अपनाएको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमितरुपमा केएमसी अस्पताल सिनामङ्गलमा स्वास्थ्य परीक्षण गराउँदै आएको पाइएको जानकारी दिनुभयो । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई कोरोना सङ्क्रमण भएपछि यहीँ २० गतेदेखि नै त्यहाँको सेवा बन्द भएकाले सुत्केरी हुन भक्तपुर अस्पताल आएको पाइएको उहाँले जानकारी दिनुभयो । महिलाको शव अस्पतालको प्रसूति वार्डमा नै राखिएको छ भने बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ