बाँके, २२ जेठ ।
बाँकेमा पनि आजबाट लकडाउन खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्बदलीय बैठकको निर्णयसँगै आजबाट व्यापार व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाइएको हो ।
आजबाट निश्चित समय पसलहरु खुल्नेछन् । मोबाइल, इलेक्ट्रोनिक्स, स्टेशनरी, फर्निचर, भाडा पसलहरु आइतबार र बुधबार दिउँसो ११ देखि ३ बजेसम्म खुल्नेछन् ।
कपडा, फेन्सी जुत्ताचप्पल र गहना पसल सोमबार र बिहीबार तथा अटो मोबाइल्स, कोल्ड स्टोर मोटरसाइकल तथा साइकल र अन्य पसल मंगलबार र शुक्रबार ११ बजेदेखि ३ बजेसम्म खुल्नेछन् ।
यस्तै बैंकहरु सार्वजनिक विदाको दिन बाहेक अरुदिन खुल्नेछन् भने निर्माण कार्यमा संलन मजदुरहरुलाई साइकलमा आउजाउ गर्न दिइनेछ ।
उता, पोखरा उद्योग वाणिज्य संघले लकडाउन खुकुलो गरी व्यापार, व्यवसाय सञ्चालन गर्न सरकारसँग माग गरेको छ । लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आएकाले लकडाउन खुकुलो पार्न माग गरेको हो ।
पोखरा उद्योग वाणिज्य संघले बुधबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दामु अधिकारीले भन्नुभयो, ‘कोरोनाको कारण धेरै मान्छे मरेका छैनन् । अब हामीले लकडाउन खुकुलो गरेर आर्थिक गतिविधि सञ्चालन गर्नुपर्छ ।’
अधिकारीले लकडाउन खुकुलो नभए आफूहरु अवज्ञा गर्न बाध्य हुने चेतावनीसमेत दिनुभयो ।
‘एकतिर कर, ऋणको मार छ । अर्कातिर उद्योग, व्यवसायमा आश्रित श्रमिक वर्गको आयित्व पनि हामीसँग छ । अब पनि लकडाउन खुकुलो नभए हामी अवज्ञा गर्न बाध्य हुनेछौं,’ उहाँले भन्नुभयो ।
‘समय तालिका मिलाएर व्यवसाय खोल्नुपर्ने पक्षमा छौं । सरकारले समय तालिका तोकिदिए त्यहीअनुसार चल्छौं । नत्र लकडाउन अवज्ञा गर्न बाध्य नपारियोस्,’ उनले चेतावनी दिए, ‘लकडाउन अवज्ञा गर्दा भइभपरी आउने समस्याबारे पनि हामी जिम्मेवारी हुने छैनौं ।’
यसैगरी पर्सामा शुुक्रबारदेखि जोररबिजोर प्रणाली अनुसार व्यवसाय सञ्चालनमा आउने भएको छ ।
लामो समयदेखिको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै शुुक्रबारबाट जोररबिजोर प्रणाली (गते) अनुसार व्यवसाय सञ्चालनको अनुमति दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।