पर्सा २१ जेठ । पर्सा जिल्लामा थप ७ जनामा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले बताए । कालिकामाई २ भेडियारी निवासी ३० वर्षीय र ४५ वर्षीय पुरुष, वडा एक तीनडोबियाका एक ३० वर्षीय र एकजना वडा ५ विरन्चीबारवाका १६ वर्षीय युवक रहेका छन् ।
८ दिन अगाडि भारतबाट फर्किएका उनीहरुलाई कालिकामाई गाउँपालिकाको हरिहरपुर विर्तामा रहेको क्वारेन्टाइनमा राखिएको थियो । गत आइतबार २१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो, जसमध्ये चारजनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।
सखुवाप्रसौनी गाउँपालिकाका गत जेठ १४ मा भारतको लुधियाना र बनारसबाट फर्किएका दुई जनामा कोरोना संक्रमण भएको बताए । सखुवाप्रसौनी गाउँपालिका–२ गुलरिया टोलका ४९ वर्षीय र जमुनियाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गत सोमबार देउरवानाको क्वारेन्टाइनमा रहेका २४ जनाको स्वाब संकलन गरिएको थियो, जसमध्ये दुई जनामा पोजेटिभ आएको हो ।
त्यसैगरी विन्दवासनी गाउँपालिकाको झौवास्थित क्वारेन्टाइनमा रहेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । विन्दबासिनी गाउँपालिकाका संक्रमितलाई राति नै नारायणी अस्पताल मातहतको गण्डक कोभिड अस्पतालमा ल्याइएको छ भने अन्यलाई आज ल्याउने नारायणी विशेष अस्पतालले जनाएको छ । यसअघि नै ५० बेड आइसोलेसन क्षमता भएको गण्डक अस्पतालमा २३ जना संक्रमित उपचाररत रहेका थिए ।
वीरगंजस्थित पीसीआर ल्याबमा मंगलबार तीन सिफ्टमा १ सय ५७ जनाको स्वाब परीक्षण गरिएको थियो । पर्सामा हालसम्म ३ हजार ८ सय ६७ जनाको स्वाब कलेक्सन गरिएको छ । १४ वटा पालिकामा स्थापना गरिएका ३६ वटा क्वारेन्टाइन केन्द्रमा ८० जना महिलासहित ७ सय २३ जना शंकास्पद संक्रमितलाई राखिएको छ । भारतबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब संकलन गरिएका, र अन्य शंकास्पद संक्रमितलाई क्वारेन्टिनमा राख्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत बताउँछन् ।