विराटनगर, जेठ २० गते । भारतमा रहेका नेपालीका लागि मुख्य नाकाहरु खुल्ला गरिए पछि प्रदेश एकका काकडभिट्टा , बिराटनगर लगायतका मुख्य नाकाबाट नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन् । सीमा क्षेत्रमा रहेका सुरक्षा निकायसगँ सम्पर्क गर्दै नेपाली धमाधम आउने क्रम जारी रहेको पाईएको छ । मुख्य नाका सरकारले खुल्ला गरिदिए पछि सुरक्षाकर्मीलाई पनि सहायक नाकामा धेरै खटनु पर्ने दबाबमा कमी आएको छ ।
सशस्त्र प्रहरी ३ नम्बर गण हेडक्वाटर मोरङका उपरीक्षक नेत्रबहादुर कार्कीले मुख्यनाका खुल्ला भएपछि सहायक नाकाको दवाव घट्दै गएको बताए ।
सरकारले गत जेठ १३ गतेदेखि मुख्यनाकाबाटै प्रवेश गराउने निर्णय गरेकै दिन रानी नाकाबाट ३०४ जना र सहायक नाकाबाट समेत १३८ जना नागरिक प्रवेश गरेका थिए । उपरीक्षक कार्कीका अनुसार त्यसपछि सहायक नाकाबाट फाट्टफुट्ट बाहेक सबै मुख्य नाका केन्द्रीत भएका हुन् ।
सुरक्षाकर्मीको सम्पर्कमा आए पछि उनीहरुलाई स्थानीय जनप्रतिनि मार्फत सुरक्षित क्वारेन्टाईन या गन्तव्यतिर पठाईने गरिएको पनि बताईएको छ ।
जेठ १ गतेदेखि १९ गतेसम्मको १९ दिनमा एक हजार ८८९ जना नेपाल प्रवेश गरेका छन् । इलामको पशुपतिनगर, झापाको काकडभिट्टा र मोरङको विराटनगरबाट पछिल्लो १९ दिनको अवधी भित्र ५ हजार ६७६ जना प्रवेश गरिसकेको पाईएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पछिल्लो एकसाताको अवधीमा एक हजार १०० नागरिक मुख्यनाका हुँदै प्रवेश गरेको बताए ।
क्वारेन्टीनमा रहेकाहरु सबै भारतबाट नेपाल प्रवेश गर्नेहरु नै हुनुहुन्छ, प्रमुख जिल्ला अधिकारी भुजेलले भने–मुख्यनाका हुँदै प्रवेश गराउने प्रक्रियाले सहायक नाकाबाट झुक्याएर प्रवेश गर्नेहरुको तनाव कम हुँदै व्यवस्थापनका लागि एकिकृत प्रणाली लागु गर्न सहज भएको छ ।
प्रदेशको प्रमुख नाका विराटनगर जस्तै झापाको काकडभिट्टा हुँदै पछिल्लो १५ दिनयता ३ हजार ५७३ नागरिक नेपाल प्रवेश गरिसकेका छन् ।
प्रदेश १ को इलामस्थित पशुपतिनगर हुँदै हालसम्म २१४ जना नागरिक प्रवेश गरिसकेका छन् ।