भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा राखेपछि….

भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा राखेपछि….

  • सोमवार, जेष्ठ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

दुल्लू, १९ जेठ । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो । आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर तत्कालका लागि नजिकैको गोठमा सारिएको गाउँपालिकाले जनाएको छ ।

तत्काल कुनै वैकल्पिक व्यवस्था नभएकाले सावधानीका लागि गोठ सुरक्षित हुँदा त्यहाँ राखिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिनुभयो । यद्यपि उनीहरुलाई गाउँपालिकाको कार्यालय नजिकै एकजनाको घर भाडामा लिएर व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ । “भारतबाट आएका सयौँ दाजुभाइलाई क्वारेन्टिनमा राख्दा हाम्रा सबै सामुदायिक भवन भरिभराउ भइसके”, उहाँले भन्नुभयो, “बाध्य भएर कोरोना सङ्क्रमण अरूलाई नफैलियोस् भनेर यहाँ राखेका हौँ ।”

गोठमा राखिएको तस्वीरलाई सामाजिक सञ्जालमा राखेर थप पीडा थप्ने काम भइरहेको उहाँको भनाइ छ । “हामीले सक्दो प्रयास गरेकै छौँ । बाहिरबाट आउनेलाई व्यवस्थापनमा हामी लागिरहेकै छौँ”, अध्यक्ष बुढाले भन्नुभयो । उहाँका अनुसार सङ्क्रमितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचारको व्यवस्थापन भइरहेको र पिसिआर परीक्षणका लागि स्वाब सङ्कलनको काम भइरहेको छ ।

एक हप्ताका लागि इमर्जेन्सी वार्ड सिल

दैलेखको एकमात्र सुविधा सम्पन्न जिल्ला अस्पतालमा एक हप्ताका लागि इमर्जेन्सी वार्ड सिल गरिएको छ । कोरोना पोजेटिभ भएका एक युवा झुक्याएर इमर्जेन्सी वार्डमा भर्ना भएपछि कोरोना नियन्त्रण तथा रोकथाम समितिको आकस्मिक बैठक बसी एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाको महावु गाउँपालिकाका ती युवा भारतबाट नआएको झुटो रिपोर्ट दिँदै शनिबार अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए । उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकाले एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको जिल्ला कोरोना नियन्त्रण तथा रोकथाम समितिका संयोजक इन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मधुमेह रोगी ती युवा दिनभर त्यस वार्डमा उपचारका लागि बसेको हुँदा अन्य बिरामी तथा स्वास्थ्यकर्मीलाई सङ्क्रमण नहोस् भनेर इमर्जेन्सी वार्ड बन्द गरिएको हो । यद्यपि सर्वसाधारणका लागि अन्य वार्डमार्फत सेवा दिन वैकल्पिक व्यवस्था गरिएको छ । ती युवाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टिनमा राखिएको छ । ती युवालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ