काठमाण्डौ जेष्ठ १६ । सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदे फर्कन चाहने नेपालीलाई ल्याउने भएको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताउनुभयो ।
समितिले ‘नेपाल आउने नागरिकलाई ल्याउन सम्बन्धि आदेश– २०७७’ को अनुसार कार्यदेश बनाएर ल्याउन थालेको हो । ती नागरिकलाई हवाई र स्थलमार्गहुँदै नेपाल ल्याइने छ ।बैठकले विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र ल्याउने निर्णय गरेको छ।
सरकारले भारत र अन्य देशमा रहेका झन्डै ६ लाख नेपाली तत्काल आफ्नो देश फर्किन चाहेको बताएको छ । यसमध्ये प्राथमिकताको आधारमा युएई, कतार, मालदिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थीलाई पहिले नेपाल ल्याइने भएको छ ।
नेपाल आएपछि उनीहरु दुई साता आफ्नै खर्चमा काठमाडौंको होटलमा बस्नुपर्ने छ । अवस्था हेरी केहीलाई सरकारले नै सुविधा उपलब्ध गराउने तयारी भएको समितिले जनाएको छ ।
समितिले युएइमा रहेका २८ जना गर्भवती र कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएर देश फर्किन बसेका २५ सयदेखि ३ हजार घरेलु कामदारलाई पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक ३ हजार देखि ३५ सय जनालाई ल्याइने तयारी समितिको छ ।
यस्तै विदेशमा रहेका नेपाल आउनुपर्ने स्थलगत मार्ग हुदै आउँदै मानिसलाई २० नाका तोकिएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिवसमेत रहनुभएका बिडारीका अनुसार स्थलमार्गबाट आउने नाकामा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, सप्तरीको कुनौली, सिराहाको ठाडी, सिराहाको माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मङ्गलवा, रौतहटको गौर, पर्साको वीरगञ्ज, बाराको महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको तौलिहवा र कृष्णनगर, बाँकेको जमुनाह, बर्दियाको सुरजपुर, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुला नाका निर्धारित भइसकेका छन् ।
नेपाल आउनुपर्ने व्यक्तिमा सम्बन्धित देशमा विभिन्न कारणले सजाय तोकिएर माफी पाइसकेका व्यक्ति, नेपाल आउन अनुमति प्राप्त भएका व्यक्ति जुनसुकै कारणले बर्हिगमन राहदानी पाएका व्यक्तिहरु, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका व्यक्ति रहेका छन् ।
यस्तै श्रम करार अवधि समाप्त भएर रोजगारी गुमाएका व्यक्तिहरु, कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएक व्यक्ति, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति पनि आउने सूचीमा रहेका छन ।
सरकारी सेवामा रही तालीम वा विदेशमा गएका व्यक्ति जो नेपाल आउन नपाएका छन तिनीहरुलाई पनि सरकारले स्वदेश ल्याउने भएको छ । यस्तै अध्ययन समाप्त भएका विद्यार्थी, कलेज वन्द भएका विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि विदेश गएका जो फर्कन इच्छुक भएका, कम्पनीबाट अनिवार्य विदामा बसेका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेर नेपाल आउनुपर्ने अवस्थामा रहनु भएका र पर्यटक र व्यापारी राहदानीमा गएकालाई स्वदेश फर्काइने उहाँले जानकारी दिनुभयो ।
उनीहरुलाई तत मुलुकका कूटनीतिक नियोग र राजदूतावासमा निवेदन दिएपछि स्वदेश फर्काउने उहाँले बताउनुभयो । स्वदेश फर्कनेलाई नेपाली वायुसेवा निगम र नेपालका वायु सेवाका माध्यमबाट स्वदेश ल्याइने गरी कार्ययोजना बनाइएको छ । नेपाल वायुसेवा निगम र नेपालमा रहेका वायु सेवाले नसकेको खण्डमा मात्र विदेशी वायुसेवामार्फत चार्टर गरेर ल्याइने छ ।
“छिट्टै नै विदेशबाट आउने मानिसको विवरण सङ्कलन गरी संयोजन गरिने छ”, उहाँले भन्नुभयो, “परराष्ट्रमन्त्रालयले विवरण ल्याएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत हवाई उडानको व्यवस्थापन गरेर विदेशमा रहेका नागरिकलाई नेपाल ल्याइने छ ।”