नक्सा सम्बन्धि संविधान संशोधनको पक्षमा काँग्रेस रहेको घोषणा

नक्सा सम्बन्धि संविधान संशोधनको पक्षमा काँग्रेस रहेको घोषणा

  • बिहिबार, जेष्ठ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

जेष्ठ १५ काठमाण्डौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावकोे पक्षमा मतदान गर्ने भएको छ ।
कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा निशाना छापमा अद्यावधिक गर्न हुन लागेको संशोधनको पक्षमा मतदान गर्ने आज यहाँ पत्रकार सम्मेलन गरेर पार्टीले स्पष्ट पारेको हो ।

पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, “नक्साको सन्दर्भमा कोही द्विविधा नभए हुन्छ, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो, नेपालको अधिकार स्थापित हुनुपर्छ भन्ने जुन राजनीतिक दल ९काँग्रेस०ले भन्दै आएको छ, त्यो दल नक्साको सन्दर्भमा प्रष्टरुपमा संसद्मा पक्षमा उभिन्छ, संस्थागत निर्णय गर्ने काँग्रेसको अधिकारको विषयलाई सुरक्षित रहन दिनुहोस् । ”
सीमाको विषयमा राष्ट्रिय एकताका साथ सम्पादन गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै उहाँले यसमा काँग्रेस प्रतिपक्षी दलका रुपमा जिम्मेवार र संयमित भएर कार्य गरिरहेको बताउनुभयो । उहाँले विगतदेखि नै काँग्रेसले राख्दै आएको धारणाबमोजिम कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ भन्नुभयो । नेपालको भूभागमा नेपालको हक कायम हुनुपर्छ भन्नेमा काँग्रेस प्रष्ट रहेको समेत उहाँले बताउनुभयो ।

नेपालको आफ्नो भूमिमा अधिकार स्थापित गर्ने सन्दर्भमा सरकारले जारी गरेको नक्सालाई सबैको स्वामित्वबोध गर्दै साझा सहमति निर्माण गर्नेगरी अघि बढ्न काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।

काँग्रेस उग्र अभिव्यक्तिभन्दा पहलकदमीमा तीव्रता गर्ने पार्टी हो भन्दै उहाँले नक्सा जारी भएकामा पार्टीले सकारात्मक दृष्टिकोण यसअघि नै सार्वजनिक गरिसकेको र यही १७ गते बस्ने केन्द्रीय कार्य समितिले संस्थागत निर्णय गर्नेसमेत उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “राष्ट्रियता जस्तो विषयमा हरेक दलबीच साझा स्वामित्व हुन सकोस्, कसैले पनि त्योभन्दा फरक रुपमा उभिनेखालको अवस्था नबनोस् भन्ने सन्देश दिन साझा प्रयत्न गर्ने जिम्मेवारीसमेत काँग्रेसकै हो ।”

सर्वदलीय बैठकमा सहभागी भएर संस्थागतरुपमा निर्णय गर्नेछ भनेर काँग्रेसले भनेको अर्थ हामीलाई समय दिइयोस् भनी समय माग गरेको होइन भन्दै उहाँले संसद्मा शुरु भएको प्रक्रिया अवरुद्ध गर्नुपर्ने भन्ने माग विल्कुलै नभएको समेत उहाँले प्रष्ट पार्नुभयो । उहाँले संसद्मा कार्यसूचीबाट हटाइनुपर्छ भन्ने काँग्रेसको अभिव्यक्ति थियो भनेर ढङ्गले सरकारका केही मन्त्रीले भनेको विषयलाई काँग्रेसले गम्भीररुपमा लिएको उहाँले बताउनुभयो । प्रवक्ता शर्माले यसअघि सभापति शेरबहादुर देउवाको वक्तव्यबाट समेत आएको सन्दर्भमा पार्टीको धारणालाई गलत व्याख्या नगर्न चेतावनी दिनुभयो ।

राष्ट्रियताको विषय आरोप प्रत्यारोप नभई एक ठाउँमा उभिएर राष्ट्रिय भावनालाई बलियो बनाउन सकिन्छ भन्दै उहाँले नक्सा लिएरमात्रै जिम्मेवार पूरा नहुने हुँदा जमिन पनि आफ्नो हातमा ल्याउनका लागि राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसम्मतिका रुपमा पारित गरेर जाउँ भन्ने अभिव्यक्तिको काँग्रेसले सम्मान गरेको समेत उहाँले बताउनुभयो ।

उहाँले सन् २०१५ मा भारत र चीनले सम्झौता गर्दै गर्दा तत्कालीन काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले चीन र भारत दुवै देशलाई कूटनीतिक नोट पठाएयता नै यो विषयमा केन्द्रमा आएको र राष्ट्रिय एकताको वातावरण निर्माण शुरु भएको उहाँले जिकिर गर्नुभयो ।

सन् २०१९ मा लिपुलेक, कालापानीलाई गाँसेर भारतले नक्सा सार्वजनिक ग¥यो त्यो बेलामा पनि काँग्रेसले स्पष्ट धारणा राखेको उल्लेख गर्दै उहाँले यस विषयमा काँग्रेसले सरकारलाई साथ दिन्छ भनेर स्पष्ट गरेको जानकारी दिनुभयो ।

कोरोना नियन्त्रणमा गम्भीर हुन आग्रह

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कोभिड–१९ को सङ्क्रमणमा रोक्न गम्भीर भएर अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले सरकारको प्रयास कमजोर रहेको भन्दै परीक्षणको दायरा बढाउनसमेत अपिल गर्नुभयो ।

“क्वारेन्टिनमा मान्छे मर्दैछन्, अधिकांशको मृत्युपछि मात्रै रिपोर्ट किन आउँछ, सिमानामा राम्रो परीक्षण किन गरिएको छैन, विदेशमा अलपत्र परेको नागरिकको उद्धारमा सरकार किन गम्भीर छैन”, उहाँले प्रश्न गर्नुभयो । उहाँले आज सार्वजनिक हुँदै गरेको बजेटले कोरोनालाई सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ