जेष्ठ १५ काठमाण्डौं । नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।
रुकुम (पश्चिम) बाट निर्वाचित प्रतिनधिसभा सदस्य शर्माले प्रेस विज्ञप्ति जारी गर्दै चौरजहारीमा भएको घटना मानव सभ्यताको खिल्ली उडाउने र मानव सभ्यताको सामु उत्पन्न चुनौतीका रुपमा लिएको भन्दै छानबिनको माग गरेका हुन् ।
शर्माले “उक्त घटनाको घोर भत्र्सना गर्दै अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुन्न भन्ने मेरो स्पष्ट धारणा छ । अपराधी नछुटुन् र निर्दोष नपरुन् भन्नका लागि घटनाको सत्यतथ्य अनुसन्धान मुख्य कुरा हो । छानविनमा सहयोग गर्न म प्रतिवद्ध छु ” भनेका छन् ।
संविधानमा दलित अधिकार उल्लेख भए पनि वैचारिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिकरूपमा समाजलाई रुपान्तरण गर्न अझै सफल नभएको यस घटनाले देखाएको उल्लेख गर्दै उउनले भनेका छन् “यस्ता घटना फेरि पनि नघटुन् भन्नका लागि सामन्ती चिन्तन प्रवृत्तिविरुद्ध बृहत् सांस्कृतिक रुपान्तरणको सङ्घर्ष आवश्यक छ । यसको नेतृत्व राज्य स्वयंले गर्न साहस गर्नुपर्छ ।”
उक्त घटनाका विषयमा सङ्घीय संसद्मा सम्पूर्ण विवरण राख्दै गर्दा केही सांसदले होहल्ला गरी भनाइ राख्न अवरोध गरेको उल्लेख गर्दै शर्माले आफूले घटनाको सत्यतथ्य सार्वजनिक होस् भनी छानबिनको माग गरेको तथ्यलाई बङ्ग्याउने प्रयत्न भएको बताएका छन् ।
“मैले संसदमा त्यहाँको सम्पूर्ण विवरणसहित सभामुखसँग समय मागी बोल्न लाग्दा केही सांसदहरुले होहल्ला गरी मलाई बोल्न नदिने काम भयो । म मेरा सम्पूर्ण भनाइ राख्नबाट बञ्चित भएँ”, शर्माद्वारा जारी विज्ञप्तिमा भनिभएको छ, “मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतीकरण गर्ने प्रयास भएको छ । सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्यतथ्य सार्वजनिक होस् भनी छानबिनको माग गरेको तथ्यलाई बङ्ग्याउने काम नहोस् ।”