बागलुङ, १४ जेठ । हेटाैडा र बागलुङमा गरी बुधवार ७ जनामा संक्रमण पुष्टि भएकाे छ ।
हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यही जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हेटौंडा अस्पतालका डाक्टर प्रविण श्रेष्ठले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार कोरोना पुष्टि भएपछि उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको छ । उनको आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको डा. श्रेष्ठले बताएका छन् ।
संक्रमित महिलालाई चितवनको भरतपुर अस्पताल लगिएको छ । उनी र उनका श्रीमान चितवनमा रोजगारीमा थिए । उनी चितवनबाट हेटौंडा आएपछि कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको थियो ।
उता, बागलुङको तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो। यद्यपी, यसबारे को आधिकारिक जानकारीका लागि स्वास्थ्य मन्त्रालयले दिउँसो गर्ने पत्रकार सम्मेलन पर्खन निर्देशन आएको जिल्ला स्वास्थ्य र धौलागिरी अस्पतालले बताएको छ।
संक्रमण देखिएका सबै भारतबाट उद्धार गरिएका हुन्। तमानखोलामा ८ जनाको समूहमा आएकाको स्वाब संकलन गरिएकोमा चार जनामा संक्रमण देखिएको जानकारी आएको र उनीहरुलाई धौलागिरी अस्पताल पठाउने तयारी भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए। बडिगाड गाउँपालिकामा पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेका ८ जनाको स्वाब संकलन गरेकोमा दुई जनामा कोरोना संक्रमण देखिएको जानकारी आएकाले उनीहरुलाई अस्पताल पठाउने तयारीमा लागेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए।