अन्तरजातीय प्रेमकै कारण गयो ३ युवाको ज्यान, तीनजना अझै बेपत्ताः १२ जना पक्राउ

अन्तरजातीय प्रेमकै कारण गयो ३ युवाको ज्यान, तीनजना अझै बेपत्ताः १२ जना पक्राउ

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काठमाडौं, १२ जेठ । जाजरकोटका युवा र रुकुम पश्चिमकी युवतीबीचको अन्तरजातीय प्रेमकै कारण तीन जना युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २० वर्षीय नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीबीचको तीन बर्षदेखिको प्रेम सम्बन्धको कारण नवराज सहित उनका अन्य दुई साथीको ज्यान गयो ।

अन्य तीनजना अझै बेपत्ता छन् । नवराज र टीकाराम सुनारको शव आइतबार र गणेश बुढा मगरको शव सोमबार भेटिएको प्रहरीले जनाएको छ ।

भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले उनीहरुको खोजी गरिरहेको छ ।

तीनैजनाको शव भेरी नदी किनारको धल्ला भन्ने स्थानमा भेटिएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिनुभयो ।

घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भडेल, आशिष विकलगायत १२ जना घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन् ।

उनीहरु बिबाह गर्ने सोचमा थिए । ठकुरी समुदायकी ती युवतीले बोलाएपछि नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन चौरजहारी पुगे । उनीसँगै साथी गएका चौरजहारीका टीकाराम सुनार र रानागाउँका गणेश बुढा मगरको पनि मृत्यु भयो ।

केही महिनाअघि पनि विवाह गर्न खोज्दा चौरजहारी इलाका प्रहरी कार्यालयको रोहबरमा उमेर पुगेपछि विवाह गर्ने गरी छुटाइएको थियो । आमा उर्मिलाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराज पनि युवतीको घरमा जानेआउने गर्थे । यद्यपि, युवतीका आमाबुवा दुईबीचको प्रेम सम्बन्ध टुटाउन चाहन्थे । पटकपटक नवराजलाई चेतावनी पनि दिएका थिए ।

नवराज आफ्ना साथीहरुलाई साथमा लिएर शनिबार राति युवतीको गाउँ सोती पुगेका थिए । एक्लै जाँदा खतरा हुने भएकोले १८ जना साथीलाई आफूसँगै लगेको उनीसँगै गएका सुदीप खड्काको भनाई छ ।

घाईते भएका उनले भने, ‘हामी सोती पुग्ने बित्तिकै युवतीका आमाबुवाले गाउँलेलाई बोलाएर अन्धाधुन्ध आक्रमण गर्न लगाए ।

गाउँलेको समूहले करिब आधा घण्टासम्म ढुंगामुढा गर्दै लखेटेको र नवराजलाई ढुंगाले हानेर मारेपछि भेरी नदीमा फ्याँकेको उनीसँगै गएका अर्का युवा सरोज भँडेलको भनाई छ ।

मृतकका परिवारले सोही वडाका वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा बीरबहादुर मल्ललगायतले लखेटीलखेटी मारेको आरोप लगाएका छन् । मृतक युवाको शव जाजरकोट जिल्ला प्रहरी कार्यालयमा रहेको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको पोष्टमार्टम गर्न दिएका छैनन् । उनीहरुले घटनामा संलग्नमाथि किटानी जाहेरी पनि दिएका छैनन् ।

प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । घटनामा संलग्न अन्यको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताउनु भयो ।

नवराज नेपाल प्रहरीको सिपाहीमा छनोट भएका थिए । तर, लकडाउनका कारण तालिममा भने सहभागी हुन पाएका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ