वीरगन्ज, १२ जेठ । देशभरबाट हालसम्म १०५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । आइतबार राति वीरगन्जस्थित नारायणी अस्पतालबाट एकै परिवारका १८ जना संक्रमित निको भएर घर फर्किएुँसंगै निको हुनेको संख्या १०५ पुगेको हो ।
डिस्चार्ज हुनेमा ४ महिने शिशुदेखि लिएर ६२ वर्षकी वृद्ध महिला(७ महिला र ११ पुरुष)सम्म रहेको अस्प्तालले जनाएको छ ।
उनीहरु वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वासिन्दा हुन् । उनीहरुलाई आइतबार राति करिब ११ बजे उनीहरुलाई स्चार्ज गरिएको थियो ।
दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले बताएका छन् ।
गत वैशाख २१ मा उक्त परिवारका ३७ वर्षीय पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएपछि सम्पूर्ण परिवारको स्वाब संकलन गरिएको थियो । गत वैशाख २४ मा ती पुरुषको आमा, बुबा, दाइ, भाउजू, छोरा, भतिजासहित परिवारका १७ जनाको स्वाब परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको थियो । परिवारका सबैलाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।
चिकित्सकका अनुसार उनीहरु कसैमा पनि कोरोनाको लक्षण देखिएको थिएन । शनिबार मात्र नारायणी अस्पतालको आइसोलेसन वार्डबाट पर्सा, बारा र रौतहटका ९ जना कोभिड १९ का बिरामी निको भएर डिस्चार्ज भएका थिए । नारायणी अस्पतालको आइसोलेसन र अस्थायी कोरोना अस्पताल गरि वीरगन्जमा अझै ७२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । पर्सा निवासी एक संक्रमितको बाराको कलैयामा उपचार भइरहेको छ । योसँगै पर्सामा मात्रै निको हुनेको संख्या २५ पुगेको छ