काठमाडौं, जेठ ११ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवारसम्ममा मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ ।
समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट युएई मा १८ जना नेपालीको निधन भएको छ ।
त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र कुवेत १ जनाको मृत्यु भएको छ ।
् यस बाहेक नेपालमै भने ३ जनाको मृत्यु भएको छ । देश बिदेशमा जोड्दा कुल एक सय १७ जना नेपालीको मृत्यु भएको छ ।
५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ । स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखी ५० वर्ष उमेर समूहका छन् ।
४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन ।
यसै गरी नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।
ती मध्य मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोप १०, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ ।
अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संघले जनाएको छ । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट निको भएको पनि उनले बताए ।