बाँके, ९ जेठ । नेपालगञ्जका पहिलो कोरोना सङ्क्रमितसहित एकैपटक २१ जना आज डिस्चार्ज भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुष र नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना संक्रमित निकाे भएर घर फर्किएका हुन् ।
यो सँगै कोरोना जित्नेको संख्या ७० पुगेको छ। प्रदेश ५ सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसन अस्पतालबाट २१ जना संक्रमित निको भएर गएका हुन् ।
अन्य संक्रमितकाे भने साेहि अस्पतालमा उपचार भइरहेकेा भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयाे ।
उपचाररत उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको थापाले बताउनु भयो । उहाका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो ।
अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि उनीहरूलाइ घर पठाइएकाे उहाँले बताउनु भयो ।
१९ वैशाखमा पहिलो व्यक्तिमा र २३ वैशाखमा २२ जना संक्रमण पुष्टि भएको हो ।