कन्चनपुर, जेठ ८ । भारतबाट जोखिम मोलेर लुकिछिपी नेपाल प्रवेस गर्नेक्रम रोकिएको छैन । यसरी ज्यान जोखिममा राखेर भारतबाट आउने नेपाली कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रबाट दैनिक सयौँको संख्यामा पुगिरहेका छन् । भारतीय प्रहरीको अपमान तथा यातना सहदै कहालीलाग्दो अवस्थामा नेपाली नागरिक सीमा क्षेत्रमा पुगेका हुन् ।
नेपालीहरूमाथि भारतीयकाे यातना तथा अपमान र उनीहरूलाइ स्वदेश फर्कनसमेत लुकिछिपि हिड्नुपर्ने अवस्था हुनु दुःखद भएकाे भन्दै जिल्ला स्थित स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, प्रशासनिक निकायका अधिकारीले आधिकारित सीमा नाकाबाट व्यवस्थित तवरले भित्र्याउन आवश्यक देखिएको ठहर गरेका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडा संयोजकत्वको कोडिभ–१९रोकथाम तथा नियन्त्रण जिल्लास्तरिय समन्वय समितिको बैठकले अवैध रुपमा ज्यान जोखिममा राखेर नेपाल भित्रिने नागरिकको हकमा सबै स्थानीय तहमा क्वारेन्टाईन निर्माण गरेर त्यही राख्ने व्यवस्था मिलाउने र आधिकारिक नाकाबाट उद्दार गरेर क्वारेन्टाईनमा राख्नका लागि गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ । समितिको निर्णय बमोजिम गृहमन्त्रालयमा पत्राचार गरिने छ ।
यस्तै समितिले कोरोना रोकथाम एव संक्रमण फैलिन नदिन अन्य निर्णय समेत गरेकोछ । क्वारेन्टाईनको क्षमता अभिबृद्धि गर्ने, संघीय र प्रदेश सरकारको मापदण्ड अनुरुप स्थानीय स्तरमा प्राप्त सोतसाधन क्षमताको अधिकतम सदुपयोग गर्दै अधिकतम व्यवस्थित क्वारेन्टाईन संचालन गर्ने निर्णय भएको हो ।
जिल्लामा ठुलो संख्यामा कोरोना परीक्षण गर्नुपर्ने भएकाले भिटिएम किटको व्यवस्थापनका लागि प्रदेश र संघ सरकारसंग अनुरोध गर्ने, जोखिम बढ्दै गएको सन्दर्भमा न्यूनिकरण एव रोकथामका लागि सबै स्थानीय तहका जनप्रतिनिधी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाउँदै समन्वयात्मक ढङगबाट काम गर्ने निर्णय गरिएको छ ।
हालसम्म कोरोना रोकथामको समिक्षा गर्दै समितिले जिल्ला स्थित सरोकारवालासग सर्वपक्षिय बैठक आयोजना गरि कोरोना भाईरस लगायत आगामी दिनमा आउन सक्ने सम्भावित विपद्बारे छलफल गरि आवश्यक रणनीति तय गर्ने निर्णय भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा भएको बैठकमा ९ वटै स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, केही सरकारी कार्यालयका प्रमुखको उपस्थिति रहेको थियो ।