जेष्ठ ७ काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको अघिल्ला दुई मृत्युले धेरै नेपालीहरुको मनमा चिन्ता बढेको थियो । सिन्धुपालचोककी सुत्केरी र बाके नरैनापुरका क्वारेन्टाईनमा रहेका २५ बर्षे युवाको उपचार पाउनु अघि नै मृत्यु भएको पृष्टभूमिमा तिलोत्तमा ५ मणिग्रामको क्रिमसन अस्पतालमा उपचार गराईरहेका गुल्मी मदाने गाँउपालिकाका संक्रमित शिक्षकको मृत्यु भएको खबर आज बिहानबाट फैलियो । धेरै जसो खास गरी अनलाईन सञ्चारमाध्यमले यो खबर लेखेका थिए ।
यसरी संक्रमितको मत्युको खबर सार्वजनिक भएको थियो ….
केही दिन अघि पनि सामाजिक सञ्जालमा कोरोना संक्रमित गुल्मीका शिक्षकको मृत्यु भएको भनेर हल्ला चलेको थियो । तर त्यसलाई सरकारी निकायहरुले विज्ञप्ति निकालेर खण्डन गरेका थिए ।
सोमबार कोरोना पुष्टी भएका ४१ बर्षे ती शिक्षकको तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा भेन्टिलेटरमा उपचार गराईरहेको अवस्थामा निधन भएको खबर सबै भन्दा पहिला प्रदेश ५ का सामाजिक विकास मन्त्री, तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे , अस्पतालका सञ्चालक तथा वडा अध्यक्ष दुर्गा पाण्डे लगायतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमबाट खबर प्रकाशित भयो ।
यी खबरका लागि प्रमुख स्रोतका रुपमा उद्धृत थिए सामाजिक विकास मन्त्री सुदर्शन बराल, तिलोत्तमाका मेयर वासुदेव घिमिरे ।
मन्त्री बराललाई शुरुमा अस्पतालबाटै मृत्यु भएको खबर आएका आधारमा उनले सेतोपाटीका पत्रकारलाई १५ मिनेट अघि मृत्यु भएको जानकारी दिए । अनि बन्यो समाचार । त्यस पछि तिलोत्तमाका मेयरलाई सोधेर पनि विभिन्न मिडयाले शिक्षकको मृत्युको खबर लेखे ।
तर पछि जब अस्पतालको बिज्ञप्ति आयो । त्यस पछि फेरी बुझ्दा मेयर घिमिरेले अस्पतालका सञ्चालक तथा वडा अध्यक्ष दुर्गा पाण्डेले आफूलाई मृत्यु भएको भने पछि आफूले मिडियालाई दिएको बताए ।
स्वास्थ्य मन्त्रालयले भन्यो: संक्रमितको उपचार जारी तर स्वास्थ्य स्थिति गंभीर
नेपालमा कोरोना उपचारको क्रममा तेस्रो कोरोना संक्रमितको मृत्यु भनेर आएको समाचार हल्ला भन्दै स्वास्थ्य मन्त्रालयले ती संक्रमितको अझै पनि भेन्टिलेटरको सहायतामा उपचार भईरहेको र स्वास्थ्य स्थिति गंभीर रहेको जनाएको छ ।
बुधवार नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उपचारको क्रममा रहेका पिसिआर बिधिबाट पोजेटिभ देखिएका व्यक्तिको वुटवलको क्रिमसन अस्पतालमा उपचार भईरहेको भन्दै आधिकारीक स्रोत र सूचनामा मात्र भर परेर खबर प्रकाशन तथा प्रशारण गर्न पनि आग्रह गरे ।
यस्तो संवेदनशील मामलामा आधिकारीक स्रोत र सूचना मात्र प्रयोग गरेर आफु र आफ्नो देशलाई बचाउन पनि डा. देवकोटाले अपील गरे ।
मैले कसैलाई मृत्यु भयो भनेकै छैनः बराल, सामाजिक विकास मन्त्री
मिर्मिरेले आजको समाचारमा विभिन्न मिडियाले स्रोतको रुपमा उल्लेख गरेका प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालसगँ पनि सम्पर्क गर्यो । केही चर्चित अनलाईनमा उनलाई उद्धृत गरेर मृत्युको खबर छापिएको थियो । उनले सेतोपाटीलाई १५ मिनेट भयो मृत्यु भएको भनेर दिएको उक्त अनलाईनले लेखेको छ । मन्त्रीसगँको त्यो स्रोत उद्धत गरेर खबर लेखिएको पुनः सो मिडियाले स्पष्ट गरको छ । तर मन्त्री बरालले आफूलाई केही मिडियाले सम्पर्क गरेको तर मृत्यु भएको नभनेको दाबी गरे । मैले केहि मिडियालाई भेन्टिलेटरमा क्रिटिकल अवस्थामा उपचार भईरहेको अरु कुरा अस्पतालले बताउला सम्पर्क गर्नु होला भनेको तर मृत्यु भएको भनेर नभनेको दाबी गरे । यदी मन्त्रीले शुरुमा मिडियालाई मृत्यु भएको नबताएको भए कसरी अन्नपुर्ण, सेतोपाटी लगायतले समाचार लेखे ? प्रायः मिडियाले नभनेको कुरा लेख्न व्यवशायीक रुपले कठिन कार्य हो र यो विरलै र अपवादकै रुपमा मात्र हुने गर्दछ । यस कुराको बिस्तृत जानकारी पछि सार्वजनिक होला नै ।
एउटै विज्ञप्ति दुई पटक प्रकाशन गर्यो अस्पतालले !
यस सम्बन्धमा मृत्युको खबर खण्डन गर्न अस्पतालले १२ बजेको समय लेखेर जारी गरेको विज्ञप्ति र हिजो जेष्ठ ६ गते जारी भएको विज्ञप्ति हुबहु छ । अघिल्लो दिनको विज्ञप्तिमा पनि मेडिकल अफिसर या प्रशासकको हस्ताक्षर थिएन भने आज सात गते उही विज्ञप्ति तर छाप तल लगाएको विज्ञप्ति आयो । मृत्यु भएको भ्रामक हो हल्लाको पछि नलाग्न भन्ने अपील छ । तर यसमा पनि हस्ताक्षर छैन । यस विज्ञप्ति अनुसार जेष्ठ १ गतेदेखि ज्वरो आएको भनेर अस्पतालमा आएको र त्यस पछि भर्ना भएर उपचार गरीरहेकै बेला ५ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको तर मृत्यु भएको भनी सामाजिक सञ्जाल र मिडियामा आएको समाचारमा भ्रम नपर्न र भेन्टिलेटरको सपोर्टमा आईसीयुमा उपचार भईरहेको जनाएको छ । जबकि यसै अस्पतालका सञ्चालक तथा वडा अध्यक्ष समेत रहेका दुर्गा प्रसाद पाण्डेलाई उद्धृत गरेर केही मिडियामा समाचार प्रकाशित भईसकेको थियो । अस्पतालका मेसु डा. शेखर पोख्रेललाई पटक पटक सम्पर्क गर्दा फोन उठेन ।
हेर्नुस् दुबै विज्ञप्तिः
आज बुधवार प्रकाशित विज्ञप्ति
मंगलवार प्रकाशित विज्ञप्ति
मेयर घिमिरे र अस्पताल सञ्चालक पाण्डेको पछिल्लो स्पष्टोक्ति
जब अस्पतालको विज्ञप्ति आयो, त्यस पछि हामीले तिलोत्तमाका मेयर वासुदेव घिमिरेलाई पुनः सम्पर्क गर्यौ । त्यस क्रममा मेयर घिमिरेले उपचाररत शिक्षकको बारेमा पछिल्लो जानकारी आफूलाई अस्पतालका सञ्चालक तथा नगर कार्यपालिकाका सदस्य समेत रहेका दुर्गा प्रसाद पाण्डेले बताएपछि मिडियालाई जानकारी गराएको बताए । जिम्मेवार मान्छेले भने पछि मैले सुचना लुकाउने कुरा भएन मैले केही मिडियालाई दिएकै हो , मेयर घिमिरेले भने ।
उनले टेलिकमको रेकर्ड हेर्न पनि सकिने पनि बताएका छन् । आफूलाई अस्पतालका सञ्चालक तथा नगर कार्यपालिकाका सदस्य समेत रहेका दुर्गा प्रसाद पाण्डेले बताए पछि विस्वास गरेर न्युज २४ लाई बिरामीको अवस्थाको बारेमा कुरा गरेको हुँ, मेयर घिमिरेले मिर्मिरेसँग भने ।
उनले दिँउसो एक विज्ञप्ति नै निकालेर पनि अस्पतालका सञ्चालक तथा तिलोत्तमा नगरपालिकाका सदस्य दुर्गा प्रसाद पाण्डेले बिहान सात बजेतिर संक्रमित शिक्षकको अवस्थाको बारेमा जानकारी दिएको उल्लेख गरेका छन् ।
मलाई जिम्मेवार व्यक्तिले यस्तो सूचना कसरी दिनु भयो ? यस्तो संवेदनशील बिषयमा आवस्यक खोजबिन हुने सम्बद्ध सबैमा अनुरोध गर्दछु मेयर घिमिरेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले मिर्मिरेसगँ दिउँसो यस बिषयमा बैठक बसिरहेको र छानविन हुने र विज्ञप्ति दिने हामीलाई बताएका थिए ।
हेर्नुस् मेयर घिमिरेको विज्ञप्तिः

त्यस पछि हामीले अस्पतालका सञ्चालक तथा वडा अध्यक्ष पाण्डेलाई सम्पर्क गर्यौ, पाण्डेले भने आफूले कसैलाई मृत्यु भएको भनेको छैन भनेर प्रष्ट्याए । आफूले मेयरलाई सम्पर्क चाहीँ गरेको तर मृत्यु भएको नभनेको उनको जिकिर छ ।
तर अनलाईन खबरका पत्रकार टोपराज शर्मालाई मृत्यु भएको जनाएको सो माध्यमले पनि आफ्नो खबरमा उल्लेख गरेका छन् । तर अस्पतालको त्यो विज्ञप्ति आए पछि भने उनले मैले भनेकै छैन भन्ने दाबी गरे ।
जुनकुरा मेयरसगँको कुरामा स्पष्ट रुपले बाझिने देखिन्छ ।
हो, कुनै पनि व्यक्तिको मृत्युको खबर सामान्य र स्वभाविक हुदैन । यस्तो संवेदनशील बिषयमा मिडियामा समाचार नबन्नु पनि दुखद हुन्छ नै तर मृत्यु नभई मृत्यु भएको कुरा प्रकाशित हुनु त्यो भन्दा पनि दुखदः कुरा हो । यस्तो खबर सार्वजनिक हुनुमा के मिडिया मात्रै दोषी होला ? यो पत्याउन र कल्पना गर्न सम्म पनि कठिन छ । यसका लागि लागि जिम्मेवार को छ खोजी होस् र दोषीमाथि कार्बाही पनि ।
(नोटः कोरोना भाइरस संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार सामाजिक विकास मन्त्रालय स्रोतले दिएको जानकारीका आधारमा हामीले प्रकाशित गरेका थियौं । तर बुधवार दिउँसो अस्पतालले उपचाररत पुरुष जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेपछि समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित सो समाचारको कन्टेन हटाइएको जानकारी गराउन चाहन्छौ । यसबाट आम पाठक वर्ग, सम्बद्ध सरोकारवाला एवं बिरामीका परिवारजनमा परेको असरप्रति क्षमायाचना गर्दछौंः सम्पादक- मिर्मिरे अनलाईन । )