पर्सा ६ जेठ । नेपालमा लकडाउन सुरु भएदेखि घर जान नपाएका २१५ जना भारतीयहरुलाई आज भारत सरकारको जिम्मा लगाएर पठाईएको छ ।
वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा चैत दोश्रो सातादेखि राखिएका र वीरगंज स्थित आफन्तको घरमा करिब दुई महिना देखि बसेका २ सय १५ जना भारतीयलाई भारत सरकारको जिम्मा लगाएर पठाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनु भयो ।
वीरगंज स्थित एकीकृत भन्सार जाँच चौकी आइसीपी नाकामा भारतीय अधिकारीहरुको जिम्मा लगाएर पठाइएको छ भन्नु हुदै सहायक प्रजिअ बस्नेतले उनीहरुलाई लिन भारतबाट आइसीपीमा ७ वटा बस आएको थियो । त्यही बसमा चढेर भारतीय आफ्नो घर र्फिएका हुन् ।

आइसीपीमा वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत नितेश कुमारको रोहबरमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाका डिएम सर्वत अशोक कपीललाई जिम्मा लगाएर पठाइएको सहायक प्रजिअ बस्नेतले बताए । त्यस अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, प्रहरी उपरीक्षक गंगा पन्तको पनि सहभागीता रहेको थियो ।
नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि विभिन्न शहरमा रोजगारी र अन्य काम गर्ने उनीहरु घर फर्कने क्रममा वीरगंज नाकामा चैत दोश्रो साता आइपुगेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।
यस्तै लकडाउनमा नेपाल भारत नाका बन्द रहेका कारण नेपालका विभिन्न स्थानबाट घर फर्कने भनेर वीरगंज आइपुगेका कतिपय भारतीयहरु वीरगंज र आसपासको स्थानमा रहेका आफन्तको घरमा बसेका थिए । क्वारेन्टाइनमा रहेकाहरुलाई खाना र खाजाको निःशुल्क प्रबन्ध ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले गरेको थियो ।
त्यसैगरी वीरगंज सँग सिमाना जोडिएको रक्सौल क्षेत्रको क्वारेन्टाइनमा बसेका २२२ जना नेपालीहरुको उद्धार गरिने भएको छ । वीरगंजमा क्वारेन्टाइन बनाउने तयारी अन्तिम चरणमा पुगेकाले उनीहरुलाई बुधबार नेपाल ल्याइने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनु भयो ।
सहायक प्रजिअ बस्नेतले भने, ‘पर्सालगायत २५ जिल्लाका नेपालीहरु रक्सौलमा भारतीय पक्षले बनाएको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुलाई राख्नका लागि क्वारेन्टाइनको व्यवस्थापन गरिरहेका छौं । वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पस लगायत अन्य स्थानमा क्वारेन्टाइनको व्यवस्थापन गरिरहेका छौं ।’
ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका भारतीय नागरिक मंगलबार स्वदेश फर्किसकेकाले अहिले सो क्वारेन्टाइन खाली छ । बस्नेतका अनुसार सीमा पारी भारतीय क्षेत्रमा पर्साबाहेक काठमाडौं, कैलाली, सुर्खेत, झापालगायतका जिल्लाका छन् । काठमाडौंबाहेक अन्य जिल्लाकालाई सम्बन्धित जिल्लामै पठाइने तयारी भइरहेको उनले बताए ।
