जेष्ठ ५ काठमाण्डौं । क्वारेन्टाईनको फितलो व्यवस्थापन, अस्तव्यस्तता र समयमा एम्बुलेन्स नआउदा बाकेमा एक युवाले कोरोना लागेको समेत थाहै नपाई ज्यान गुमाउन पुगे । त्यसो त सिन्धुपालचोककी सुत्केरी युवतीको पनि कोरोना पुष्टी हुनु अघि नै ज्यान गएको थियो ।
तर बाँकेको उक्त घटनाले स्वास्थ्य प्रणाली र व्यवस्थापन माथि गंभीर प्रश्न खडा गरेको छ । क्वारेन्टाईनका नाममा मान्छे थुपार्ने तर समयमै परीक्षण र उपचार नहुने भए पछि के हुन्छ ? विज्ञहरुले यसलाई गंभीर गल्ती मानेका छन् ।
त्यस पछि बल्ल सरकारले देशभरका सबै वडाहरुमा क्वारेन्टाईन बनाउने तयारी गरेको छ । यस अघि पनि क्वारेन्टाईन भने नबनेका थिएनन् तर ती कति अस्तव्यस्त छन् भन्ने कुरा नैनापुरको घटनाले देखाएको छ ।
सरकारले सात सय ६५ वटा स्थानीय तहका ६ हजार सात सय ४३ वडामा क्वारेन्टाइन बनाउने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले संक्रमितको संख्या बढ्न सक्ने तथा विदेशबाट समेत नेपालीलाई ल्याउनका लागि आवश्यक गृहकार्य भइरहेको कारण देखाउँदै त्यसअनुसार सबै वडामा क्वारेन्टाइन निर्माणको तयारी गर्न उच्चस्तरीय समन्वय समिति र सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले त्यसअनुसार तत्काल स्थानीय तहहरूलाई परिपत्र पठाउनसमेत निर्देशन दिएको आजका अखबारहरुले लेखेका छन् ।
अब भारत सहित बिदेशबाट करीब ५ लाख नेपालीलाई नेपाल ल्याउनु पर्ने प्रारम्भिक अनुमान सरकारले गरेको छ ।