झापा, ४ जेठ । दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।
सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९ः३० बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा भारतीय नागरिक १२५/१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा हुलहुज्जत गर्दै नेपाल पस्न खोजेपछि उनीहरुलाई रोक्न एक राउण्ड हवाई फायर गरिएको बताउनुभयो ।
नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेर तितरवितर भएका थिए । भारतीय नागरिकले नेपाली भूमिमा लगाएको मकैबाली उठाउनका लागि जबर्जस्ती गर्ने क्रममा झापाको सीमा क्षेत्रमा नेपाली सुरक्षा चौकीमा भएको यो तेस्रो आक्रमण प्रयासको घटना हो ।
एक साताअघि झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा १३१ नम्बरको सीमास्तम्भ नजिक रहेको नेपाली सुरक्षा चौकीमा भारतीय नागरिकले हुलहुज्जत गर्दा दुई राउण्ड हवाई फायर भएको थियो । भारतीय पक्षबाट सो घटनाका बारेमा माफी माग्दै अबदेखि सीमामा हुलहुज्जत नगर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।
यसैगरी डेढ साताअघि झापाको कचनकबलस्थित सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरीको टोलीमाथि भारतीयले आक्रमणको प्रयास गरेका थिए ।
उता, बारा, पर्सा, नवलपरासि लगायतका जिल्लामा पनि भारतीयहरूले सीमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेका घटनाहरू यसअघि सार्वजनिक भएका थिए ।
सीमानाकामा कडाइ जारी, अवैध क्रियाकलापमा आएन कमी
भारतसँग सीमा जोडिएको सर्लाहीमा १३ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै लगेको हो । जिल्लाको भारतसँग सीमा जोडिएका ५१ किलो मिटर दूरीमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।
सोह्र बेसक्याम्प र ८२ ड्युटी पोष्ट बोर्डरमा करिब ८० देखि १०० मिटरको दूरीमा ५०० सशस्त्र प्रहरीलाई ड्युटीमा खटाइएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीले जनाएको छ । भारतबाट अवैधरूपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, ड्युटी पोष्ट र बेसक्याम्प स्थापना गरिेएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताउनुभयो ।
सीमानाका खुला रहेका र पछिल्लो क्रममा भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेका कारण सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको भए पनि आपराधिक क्रियाकलापमा भने खासै परिवर्तन आउन सकेको छैन । करिब ३.५ किलोमिटर दूरीमा करिब ५०० जनशक्ति बोर्डरको लागि परिचालन गरिएको भए पनि खुला सिमानाका कारण लुकीछिपी नेपालमा लागुऔषध तथा हातहतियार भित्रने क्रम निरन्तर रहेको छ ।
सोही क्रममा जिल्लाको विष्णु गाउँपालिका–४ बाट हतियारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक रहेका छन् । प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी मधुवनीबाट खटिएको संयुक्त टोलीले बगैँचामा लुकेर बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले ती दुई जनाको साथबाट एक थान कटुवा पेस्तोल, एक थान चाइनिज पेस्तोल र छ राउण्ड गोली बरामद गरेको स्रोतले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले अवैध नेपाल प्रवेशमा कमी आएको जिकिर सशस्त्र प्रहरीको भए पनि उनीहरूको आँखा छलेर नेपाल प्रवेश गर्ने क्रम भने अझै रोकिएको छैन । अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा सङ्क्रमणको जोखिम पनि बढ्दै गएको छ भने नेपालमा गैरकानूनी क्रियाकलाप त्यत्तिकै भइरहेका छन् । त्यस्तै भारतमा लकडाउन खुकुलो भएपछि अवैधरूपमा नेपाल भित्रिने क्रम पनि थप बढेको छ ।