काठमाडौँ, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी आवश्यक कार्य गर्न ‘लगानी, पूर्वाधार र रोजगार ः दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ गठन गरेको छ ।
पार्टीको गत वैशाख १७ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेबमोजिम सभापति शेरबहादुर देउवाले सो समिति गठन गर्नुभएको हो ।
समितिलाई तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययनपश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ लाई सुझाव दिने कार्यादेश दिइएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
समितिले दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछ । समितिको सङ्ख्या २१ मा नबढ्ने गरी थप गरिने पार्टी कार्यालयले जनाएको छ ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट सीमानाकामा आइपुगेका नेपालीलाई जोखिमरहित ढङ्गले प्रवेश गराउन नेपाल सरकारलाई तत्काल गम्भीरतासाथ पहल गर्न आग्रह गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सीमानाकामा रहेका नेपालीलाई जोखिम रहित ढङ्गले प्रवेश गराउन सरकारले तत्काल पहल नगर्ने हो भने एकातर्फ उनीहरुलाई सिमानामा खान बस्न कठिनाइ हुने र अर्काेतर्फ लुकीछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोना सङ्क्रमणको जोखिम झनै बढ्ने उल्लेख गर्नुभएको छ ।
तसर्थ सीमानाकामा आइपुगेका सबै नेपालीलाई व्यवस्थित ढङ्गले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परीक्षणपश्चात् सुरक्षितरूपमा घर पु¥याउने प्रबन्ध गर्न काँग्रेसले सरकारलाई आग्रह गरेको छ । लुकीछिपी प्रवेशबाट यसबीचमा सङ्क्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न प्रवक्ता शर्माले आग्रह गर्नुभएको छ ।