जेष्ठ २ बीरगञ्ज । पर्सामा आइसोलेसन वार्डमा भर्ना भएका संक्रमित व्यक्ति भाग्न खोजे सुरक्षा निकायलाई गोली समेत चलाउने अनुमति दिईएको छ ।
वीरगंजको नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका २ संक्रमित गत बुधबार भागेपछि बिहिबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता ललित कुमार बस्नेतले बताउनु भएको छ ।
नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका दुइ संक्रमित गत बुधबार आइसोलेसन वार्डको शौचालयबाट हामफालेर भागेका थिए । ती दुवैलाई प्रहरीले ७ घण्टापछि नियन्त्रणमा लिएर बुधबार राति नै फेरि आइसोलेसनमा राखेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी कार्कीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने, भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकताअनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोलीसमेत चलाउने अधिकार प्रदान गर्ने निर्णय भएको छ ।
अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका संक्रमित वा क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्ति, भागेमा नियन्त्रणमा लिन प्रहरीले आवश्यकता अनुसार सामान्य बल प्रयोग गर्ने र त्यति हुँदा पनि नियन्त्रणमा नआए गोलीसमेत चलाउन सक्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
संक्रमण पुष्टि भइसकेका संक्रमित अस्पतालबाट भागेर परिवार वा समुदायमा जादा त्यसले झन् संक्रमण फैलिने र समाजलाई नै ध्वस्त पार्ने भएकाले यस्तो निर्णय गरिएको सहायक प्रजिअ बस्नेतको भनाई रहेको छ ।
पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले पनि अस्पतालबाट भाग्ने संक्रमितले समाजमा थप संक्रमण फैलाउन सक्ने भएकाले भाग्ने संक्रमितलाई सुरक्षाकर्मीले हदैसम्मको बल प्रयोग गर्न सक्ने निर्णय भएको बताइन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले अब उप्रान्त अस्पतालमा भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय पनि गरेको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले दिए ।
जिल्लामा कोभिड–१९ संक्रमित दिनदिनै बढ्न थालेको र नारायणी अस्पतालको आइसोलेसन बेड पर्याप्त नभएकाले आइसोलेसन बेड थप गर्ने सम्बन्धमा नारायणी अस्पतालले आवश्यक पहल गर्नेसमेत निर्णय भएको छ ।