काठमाडाैं, ३० वैशाख । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ । कोरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन् धेरै बिजोग छ । हुरी, बतास आउँदा र पानी पर्दा उनीहरू पाल समातेर बस्न विवश छन् ।
भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन् ।
बिओपीमा विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । उनीहरूले भारतकै सिम प्रयोग गर्नुपर्छ । ‘कोइलाबासबाहेक अन्य कुनै पनि स्थानमा हाम्रो फोनले काम गर्दैन । कतैकतै स्काईको सिमले काम गरे पनि भरपर्दो छैन । जिल्लासँग सम्पर्क गर्नुपर्दा र इन्टरनेट प्रयोग गर्नुपर्दा भारतीय सिमको प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सशस्त्र प्रहरी बल कोइलाबासका इन्स्पेक्टर विशाल पाण्डेले भने, ‘यसो गर्दा सुरक्षा जोखिम त छ, तर अर्को उपाय पनि छैन ।’ अस्थायी पोस्टहरू स्थानीय विद्यालयमा राखिएका छन् ।
सुरक्षाकर्मीले दैनिक उपभोग्य सामान पनि भारतबाटै ल्याउनुपर्छ । विद्युत् नहुँदा सोलारबाट सञ्चारसेट चार्ज गर्छन् । खोलाको पानी पिउनुपर्ने बाध्यता छ । त्यति मात्रै होइन, एउटा पोस्टबाट अर्को पोस्टमा जान पनि भारतकै बाटो प्रयोग गर्नुपर्छ । ‘नेपालतर्फ सडक सञ्जाल जोडिएको छैन । त्यसैले एउटा पोस्टबाट अर्कोमा जानुपरे भारतकै सडकको प्रयोग गर्नुपर्छ,’ इन्स्पेक्टर पाण्डेले भने, ‘अर्को देश भएकाले भारतीय अनुमति नलिई हातहतियार पनि बोक्न पाउँदैनौँ ।’
बाँकेमा त्रिपालमुनि बसेर सीमा रक्षा
सीमा सुरक्षाका लागि बाँकेमा खटिएका सशस्त्र प्रहरीलाई आइतबार बेलुकी हुरीबताससँगै परेको पानीबाट आफू र हतियार जोगाउन धौ–धौ भयो । पालमुनि बसेका सशस्त्र प्रहरी पाल समातेर बसिरहे ।
‘हुरीबतास चल्न सुरु हुनासाथ सबैजना टेन्ट समातेर बस्छौँ । पानी चुहिएर सुत्न मिल्दैन । आकाशमा कालो बादल मडारिन थाल्यो भने सात्तोपुत्लो जान्छ,’ जानकी गाउँपालिका–१ स्थित बिओपीका एक प्रहरीले भने । सीमामा खटिएका सशस्त्र प्रहरीसँग न त आवश्यक बन्दोबस्तीका सामान छन्, न पिउने पानी र बिजुली नै छ।
सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीलाई अवैध सामान ओसारपसार र भारतबाट हुने अवैध घुसपैठलाई नियन्त्रण गर्ने जिम्मेवारी पनि दिइएको छ । कोरोनाका कारण नाका सिल भएपछि भारतबाट आउनेलाई रोक्ने जिम्मेवारी पनि सशस्त्र प्रहरीले नै पाएको छ ।
भारतसँग जोडिएको बाँकेको ६५ किलोमिटर क्षेत्रमा ११ किलोमिटरको दूरीमा सशस्त्रको बिओपी रहेको सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति एसपी दीपक अधिकारीले बताए । उनका अनुसार फरवार्ड बेस क्याम्प ६, चाइनिज टेन्टले बनाएको सुरक्षा पोस्ट २५ र गार्ड पोस्ट ६५ वटा छन् । ११ किलोमिटरको दूरीमा बिओपी र सयदेखि एक सय ५० मिटरको दूरीमा गार्ड पोस्ट निर्माण गरिएको उनले बताए । ‘भारतीय सीमा सुरक्षा बलजस्तै सुरक्षाकर्मी परिचालन गर्न प्रत्येक तीन किलोमिटरमा बिओपी हुनुपर्छ भन्ने मेरो माग छ,’ एसपी अधिकारीले भने ।
हात्तीले भत्काएको भवनमा बिओपी
भारतसँग जोडिएको कञ्चनपुरको एक सय २९।५ किलोमिटर सीमा क्षेत्रमा ६ वटा बिओपी छन् । भारततिर भने साढे दुई किलोमिटरको दूरीमा एसएसबीका बिओपी छन् । बेलौरी र दोधारामा मात्रै पक्की भवन छ, अन्यत्र कच्ची भवनमै बसिरहेका छन् ।
पुनर्वास नगरपालिका–९ बीचफाँटामा स्थापना गरिएको बिओपी हात्तीले भत्काएको घरमा छ । ६ वर्षअघि हात्तीले भत्काएपछि स्थानीय वीरबहादुर सुनारको परिवारले घर छाडेको थियो, त्यहीँ बिओपी राखिएको छ ।
त्यस्तै, बेलौरी र दोधाराबाहेकका बिओपीमा खानेपानी, विद्युत्, शौचालयको अभाव छ । कार्यालय एवं सुत्नका लागि पनि समस्या हुने गरेको सशस्त्र प्रहरीले जनाएको छ । कच्ची भवनहरू पानी पर्दा चुहिने गरेका छन् । ‘हावाहुरी, पानी पर्दा त कसरी बाँच्ने भन्ने चिन्ता हुन्छ,’ एक सशस्त्र प्रहरीले भने ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह साहुले स्रोतसाधन अभाव रहेको बताए । ‘हामीसँग पर्याप्त स्रोतसाधन छैनन्, भएका पनि थोत्रा भइसकेका छन्,’ उनले भने । कञ्चनपुरमा ६ सय २१ जनाको दरबन्दी भए पनि त्यसअनुसार पदपूर्ति भएको छैन । कोरोनाका लागि बनाएका २३ वटा अस्थायी पोस्टमा त पालकै भर छ । हावाहुरीले पोस्ट नै उडाउने गरेको छ ।
उता, दार्चुला सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरीलाई भारतबाट आउने नेपालीलाई रोक्न १० ठाउँमा परिचालन गरिएको छ । लाली, उकु, जौलजीवी र कालागाडमा पुराना भवनमा राखिएको छ भने खेट्टेबगरमा फोहोर व्यवस्थापन केन्द्रको भवनमा राखिएको छ ।
त्यस्तै, महाकाली किनारमा भने टेन्टकै मुिन बस्नुपरेको छ । हावाहुरी र पानी परेका वेला समस्या हुने भए पनि महाकाली किनारमा टेन्टको विकल्प नभएको ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर विष्टले बताए । कालागाडबाहेक अन्य सबै क्षेत्रमा सडक पहुँच भएको तथा इन्धन, पिपिई र स्यानिटाइजरको उपलब्धता रहेको उनले बताए । जिल्लाका १० ठाउँमा एक सय २० जना प्रहरी खटिएका छन् । नयाँपत्रिका दैनिकबाट बाट