बैशाख २९ काठमाडौं । भारतले अतिक्रमण गरेको कालापानी लिपुलेक सहितका विवादीत क्षेत्रमा सेना पठाउन सांसदहरुले माग गरेका छन् ।
हिजोको विवाद पछि आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद प्रेम प्रसाद तुलाचनले सीमा सुरक्षाका लागि तत्काल नेपाली परिचालन गर्न माग गरे ।
उनले सिमाना तत्काल सेना पठाउने र कुटनीतिक रुपले हिजो भएको कमजोरीको खोजी गरेर अघि बढ्नु पर्ने बताए ।
यसै गरी सांसद चाँदतारा कुमारीले पनि सीमामा सेना पठाउन र कुटनीतिक तरिकाले भारतसँग वार्ता पनि गर्न सरकारलाई सुझाव दिईन् ।
अर्का सांसद उमा रेग्मीले ७ महिना अघि भारतले नक्सा सार्वजनिक गर्दा नेपालको भूमिसहित नेपालको पनि नक्सा सार्वजनिक गर्न समितिले सरकारलाई दिएको निर्देशन पालना नभएको भन्दै आक्रोस पोखिन् ।
उनले भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको भूमि भारतको भनेको के हो त्यसबारे जवाफ दिन माग गरिन् । नक्सा प्रकाशन गर्न प्राविधिक समस्या पर्यो भनिएको छ के हो त्यस्तो समस्या ? रेग्मीले सोधिन् ।
उनले सीमा मिचिएको बारे प्रधानमन्त्रीस्तरीय वार्ता गर्न आग्रह गर्दै यो कुनै दल र सरकारको मात्र समस्या नभइ देशको समस्या भएको उल्लेख गरिन् ।
नेकपाका नेता तथा सांसद भीम रावलले विगतकाले हिजो गरेनन् भनेर आजको दायित्वबाट पन्छिन नपाइने भन्दै संसदले दिएको निर्देशन पनि सरकारले कार्यान्वयन नगरेको बताए ।
उनले भारतको अतिक्रमणबारे परराष्ट्र मन्त्रालयले हस्ताक्षर विनाको बेवारिसे बक्तव्य निकालेको भन्दै विरोध जनाए ।
उनले भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक निर्माण गर्नु दुई देशको असल छिमेकीको सम्बन्ध विपरित, अन्तर्राष्ट्रिय कानून विपरित रहेको भन्दै आपत्ति प्रकट गरे ।
उनले दार्चुलाको सबैभन्दा धेरै जमिन अतिक्रमण भएको बताउँदै नेपाली सिमानामा भारतले ४५ हजार सुरक्षाकर्मी परिचालन गरेको उल्लेख गरे ।
उनले तत्काल अतिक्रमण भएको क्षेत्रमा विज्ञ टोली पठाउन माग गर्नुका साथै नेपालको नक्सा प्रकाशन गर्न पनि माग गरे ।
उनले भने, ‘हामी सैन्य शक्तिमा कमजोर छौं होला तर हामी सार्वभौमरुपमा कमजोर छैनौँ । उसले हाम्रो भूमि समेटेर नक्सा प्रकाशन गर्ने तर हामी त्यो क्षेत्रमा पनि नपुग्ने र नक्सा पनि किन प्रकाशन गर्न नसक्ने रु यो विषय सबै नेपालीको साझा विषय विषय हो । हामी भारत विरोधी पनि छैनौँ, चीन विरोधी पनि हैनौं, हामी नेपाली पक्षधर हौं । हामीले त्यहाँ तत्काल विज्ञ टोली पठाऔं ।’
उनले दिल्लीमा रहेको राजदूतलाई अह्रराएर केही काम नहुने भन्दै स्थलगत रुपमा के छ नेपाल सरकारले किन नहेर्ने भन्दै प्रश्न गरे ।
एकचोटी हल्ला गर्ने अनि सामसुम गर्ने काम नगरेर तत्काल नेपालको नक्सा प्रकाशन गर्दै भारत सरकारसँग छलफल गर्न माग गरे ।
समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल उपस्थित छन् ।
यस अघि आजको बैठकका बारेमा हिजो निर्णय नहुदाँ बैठकमै चर्काचर्की परेको थियो ।