काठमाडौं , २८ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले नेपाली सार्वभौमिकतामाथि हाकाहाकी धावा बोलिँदा पनि ओली सरकार लाचार बनेर चुप लाग्नु नेपालको सार्वभौािमकता बेचेर आफ्नो कुर्सीको आयु लम्ब्याउने षड्यन्त्रकारी, राष्ट्रघाती र जनविराधी कदम भएको ठोकुवा गरेको छ ।
सो पार्टीका उपत्यका विशेष ब्युरो इन्चार्ज मिलनले आज एक बिज्ञप्ती जारी गर्दै सो ठोकुवा गरेका हुन् । उनले यस्तो मानवमृत्युको महामारीमा पनि हाम्रो पार्टीका नेता तथा कार्यर्तामाथि झुट्टा मुद्दा लगाउने, गिरफ्तारी गर्ने, धरपकड गर्ने कार्यलाई तीव्र पारिएको छ ।
उनले पार्टी विविध कार्यक्रम र कार्ययोजनाका साथ जनताका बिचमा पुगिरहेको भन्दै सम्पूर्ण तह र तप्काका जनसमुदायलाई दलाल फासिवादीतन्त्रका विरुद्ध गोलबन्द हुँदै विद्रोहमा उत्रन अपिल समेत गरेका छन् ।
विज्ञप्तिमा भनिएकाे छ, ‘साम्राज्यवादी असफलताका रूपमा आएको कोरोना महामारीको समयमा पनि ओली सरकार भ्रष्टाचार, कुर्सी छिनाझम्टी, अनियमितता, राष्ट्रघात गर्न उद्यत हुनुले हामी अत्यन्त गम्भीर भएका छौँ । चरम फासिवादी जगमा उभिएको वर्तमान सरकारले जनतालाई योजनाविहीन लकडाउन गरेर सरकार र सरकारी पार्टीनिकट मान्छेलाई खुलमखुला छोडिदिएको छ । कोराना उपकरण खरिद प्रक्रियामा करौडौँ रकम भ्रष्टाचार तथा अनियमितता गरिरहेका छन् ।’
सरकार भाटभटेनीलगायत कर्पोरेट पुँजीवादको नेपाली एजेन्टहरूको पक्षमा उभिँदै साना व्यापारीलाई दमन गर्दै आएको जनाउदैँ विज्ञप्तिमा भनिएकाे छ, ‘सरकार भाटभटेनी खोल्ने अनुमति दिन्छ तर भुइँमान्छेहरूको जीवननिर्वाह गर्ने बाटो बन्द गर्दछ । हामी घरानियाँहरूको पक्षमा उभिँदै आधारभूत जनताको विरुद्ध क्रियाशील सरकारी रवैयाको घोर भत्र्सना गर्दै यस प्रकारको कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दछौँ ।’
‘लकडाउनपछि मात्र झन्डै दर्जनौँ मजदुर–किसान आत्महत्या गर्न बाध्य भएको घटनाले सरकारलाई कहीँ कतै छोएको देखिँदैन । यो सरकार उत्पीडित तथा श्रमजीवी समुदायलाई आत्महत्या गर्न बाध्य पार्दै छ । संसारभरबाट नेपाली श्रमिकहरू सकुशल स्वदेश फर्कन हारगहार गरिरहेका छन् । कैयौँ नेपाली सिमानामा चिल्लीबिल्ली छन् तर यो भ्रष्ट सरकार कानमा तेल हालर बसेको छ । देशमा यत्रो मानवीय सङ्कट चुलिएको अवस्थामा पनि दलालहरू आफ्नो स्वार्थ र कुर्सीको छिनाझम्टीमा मरिहत्ते गरेर संसारलाई हँसाएका छन् । विज्ञप्तिमा भनिएकाे छ ।
