बैशाख २७ काठमाण्डौं । भारतले नेपालको भूमि लिपुलेक गुञ्जी हुदै चीन जोड्ने सडक निर्माण गरेकोमा अखिल नेपाल किशान महासंघले आपत्ति जनएको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको सीमाहुँदै मानसरोवर जोड्ने गरी भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुला जिल्लाको गुञ्जी क्षेत्रसहित कुटी, कालापानी, नाभिढाङ हुँदै लिपुलेकसम्मको नेपाली भूमि मिचेर बोर्डर रोड अर्गनाइजेसन (बिआरओ) द्वारा निर्माण गरी ‘कैलाश मानसरोवर यात्रा मार्ग’को रुपमा प्रचार गरिएको झण्डै ८० किलोमिटर सडक उद्घाटन गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । महासघंका अध्यक्ष हरी पराजुली र सहसयोजक चित्र बहादुर श्रेष्ठले विज्ञप्ति जारी गरी भनेका छन् ।
यो घटना नेपालको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथि चुनौतीपूर्ण हस्तक्षेप तथा आक्रमण हो, उनीहरुले भनेका छन् ।
सन् १८१६ मा भएको सुगौली सन्धि विपरीतको यो कदम नेपाल–भारत बिचको कुटनीतिक तथा दौत्य सम्बन्धमाथिको गम्भीर प्रहार भएके महासघले जनाएको छ ।
भारतीय पक्षलाई नेपाल र नेपाली जनताको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न र सो सडक अबिलम्व बन्द गरी नेपाल–भारतका लिम्पियाधुरा, कुटीयाङ्दी, लिपुलेक, कालापानी, सुस्ता, महेशपुर, पशुपतिनगरसहितका सम्पूर्ण सीमा विवादहरु अबिलम्व वार्ताद्वारा समाधान गर्न महासंघले अपील गरेको छ ।
छिमेकी भारतले यति लामो सडक मार्ग तयार गरी उद्घाटन गरिसक्दा समेत कुनै जानकारी प्राप्त नगर्नु वा जानकारी प्राप्त गरेर पनि सोप्रति विरोध जनाउन नसक्नुले नेपाल सरकार नेपालको राष्ट्रियता र क्षेत्रीय अखण्डताप्रति गम्भीर हुन नसकेको सन्देश दिएको छ भने राष्ट्रभक्त नेपाली जनताको मनमा गम्भीर आशंका उत्पन्न हुन पुगेको छ । पराजुली र श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तसर्थ हामी नेपाल सरकारसँग कुटनीतिक क्षेत्रमा देखिएको आफ्नो कमजोरीप्रति याचना गरी आम नेपाली जनतासँग माफी माग्दै भारत सरकारको यो एकपक्षीय हैकमवादी प्रवृत्तिको विरोधमा तत्कालै प्रोटेस्ट नोट जारी गर्ने र कुटनीतिक पहलद्वारा सम्वाद आरम्भ गरी नेपाली भूमिभित्रको सडकखण्डमा नेपाल सरकारको स्वामित्व कायम हुने वैधानिक लिखत गरी सार्वजनिक गर्न जोडदार माग गर्दछौँ ।
यसका साथै भारतसँगका सम्पूर्ण सीमा समस्याको दीर्घकालीन समाधान गर्न र भारतद्वारा मिचिएको सम्पूर्ण नेपाली भूमि फिर्ता गराउन अनुरोध गर्दछौँ । विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति हेर्नुस्ः
https://www.mirmireonline.com/wp-content/uploads/2020/05/ANPFa-Lipulek-press-release-may-9-2020.pdf