काठमाडौँ, २६ वैशाख । आज कानुन दिवश परेको छ । नेपाल प्रधानन्यायालय ऐन, २००८ विक्रम संवत् २००९ वैशाख २६ गते लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ । तर कोरोना महामारीका कारण यसवर्ष दिवशका अवसरमा औपचारिक कार्यक्रम भने राखिएको छैन।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले कानून दिवसको शुभकामनादिदै समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
उहाँले आज एक शुभकामना सन्देश जारी गरी महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको र नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतले सङ्कूचनसहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका उल्लेख गर्नुभएको छ । उहाँले यसबाट न्यायको प्राप्तिमा पुग्नगएको असुविधालाई परिस्थितिजन्य बाध्यताका रूपमा बुझ्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।
न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको प्रारम्भ गर्ने दिशामा उक्त दिनमा कोरिएको मार्गचित्रलाई आजको अवस्थासम्म ल्याइपु¥याउन भूमिका निर्वाह सर्ने सबैको स्मरण गर्दै प्रधानन्यायाधीश जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि सदा क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको छ ।
सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको परिकल्पना संविधानले गरेको छ । त्यसप्रति प्रतिबद्ध रहँदै सहज पहुँचयुक्त एवं जनास्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गन विशेष दिनले सम्बन्धित सबैमा थप ऊर्जा र हौसला प्रदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारणबाट उत्पन्न कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै कोरोना भाइरसबाट विश्वका अधिकांश देशहरू प्रभावित भएको, लाखौं मानिसहरू यसबाट सङ्क्रमित रहेको र २५० हजारभन्दाबढी मानिसहरूले यस रोगका कारण मृत्युवरण गर्नुपरेको दुखद् अवस्था रहेको सन्देशमा भनिएको छ ।
औषधि पत्ता नलागेको अवस्थामा सामाजिक दूरी कायम गर्नेलगायत स्थापित विधि र मापदण्डको अवलम्बन तथा रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि उच्च मनोबल, सकारात्मक सोच र आत्मसंयम नै यसको रोकथाम र नियन्त्रणको उपयुक्त विकल्प रहेको कुरा पनि सन्देशमा स्मरण गरिएको छ ।