काठमाडौँ, २६ वैशाख । सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । आज अपराह्न ४ बजे सङ्घीय संसद्को बैठक बस्ने तयारी गरिएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
आजको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार आजको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ ।
आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ । यसैगरी जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गर्नुभएको थियो ।
संसद बैठकमा विपक्षी दल सरकारप्रति आक्रामक बन्ने रणनीतिमा रहेका छन्। सरकारका गलत कामकारबाहीविरुद्ध भने विपक्षी दुई पार्टी एक ठाउँमा उभिने भएका छन् ।
राजनीतिलाई अस्थिरितातर्फ धकेल्ने सरकारका निर्णय, स्वास्थ्योपचार सामग्री खरिदमा भएका घोटला र सत्तारूढ दल नेकपाभित्रको सत्ता दाउपेचका घटनाले यसपटक पनि संसद् तताउने मसला विपक्षीलाई मिलेको छ । अध्यादेश प्रकरणलगायत कतिपय मुद्दामा सत्तारूढ दलकै नेता तथा सांसद विपक्षीभन्दा चर्को बनेका छन् ।
कांग्रेस नेता मिनेन्द्र रिजाल सिंगो राष्ट्र नै एक हुनुपर्ने बेलामा सरकार र सत्तारूढ दलभित्रकै रबैयाले संसद्समेत एक हुने नसक्ने वातवरण निर्माण भएको बताउनुभयो ।
यसअघि राष्ट्रिय हैसियत प्राप्त विपक्षी दलहरु तीनतिर थिए । संसद्मा विपक्षीको प्रभाव कमजोर थियो । समाजवादी र राजपाको एकता अनि कांग्रेससँगको सहकार्यका कारण विपक्षी आवाज यसअघिको तुलनामा प्रभावकारी बन्ने देखिन्छ ।
जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले राजनीतिक घटनाक्रम र सरकारका गलत निर्णयका विरुद्ध विपक्षीहरुको मत एउटै हुने बताउनु भयो।
‘जनताको भावनाविपरीत गएर सरकारले गरेका निर्णय र कदमलाई हामी संसद्मा उठाउने जानकारी दिदैँ उहाँले मिडियाको सहारामा मात्रै भर पर्ने अवस्थाबाट सदनसम्म आइपुगेकोले अब सबै खालका मुद्दा अब संसद्मा प्रवेश हुने बताउनुभयो।
‘गैरजिम्मेवार र असंवदेनशील सरकारप्रति दुस्ख मनाउने र जनताको भावनाविपरीत यो सरकारलाई चल्न नदिने दिशामा हामी केन्द्रित हुनेछौं,’ उहाँले भन्नुभयो ।
यसैबीच, कोरोनाको सक्रमण हुने त्रासलाई मध्यनजर गरेर सङ्घीय संसद् सचिवालयले सोही अनुसारको व्यवस्था गरेको छ । भने संसद अधिवेशनमा सहभागी हुने सांसदले आफूलाई कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकभित्र प्रवेश गर्न पाउने व्यावस्था गरिएको छ ।
सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि कोभिड–१९ भए÷नभएको निक्र्योल गर्न दुवै सदनका सांसद्, कर्मचारी तथा मर्यादापालक गरी ४४१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ ।
दुई सय १२ सांसद र २२९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको हो । जसअन्तर्गगत प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ सांसदको स्वाब सङ्कलन गरिएको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् ।
बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको आज बिहान ८ देखि १० बजेसम्म बानेश्वरस्थित संसद् भवन परिसरमै स्वाब सङ्कलन गरिने बताइएको छ । सङ्कलित स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । आजसम्ममा रिपोर्ट आउने पनि जनाईएको छ ।
यदि रिपोर्टमा संक्रण देखिएको पाइए बैठकमा सहभागी हुन पाउने छैनन् ।