विराटनगर, बैशाख २४ गते । कोरोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः ६ जनाले कोरोना भाईरसलाई हराएर डिस्चार्ज हुन सफल भएका छन् । नेपालमा निको हुनेको संख्या २२ पुगेको छ ।
हिजो रिपोर्ट नेगेटिभ आए पछि आज बिहान डिस्चार्ज गरिएको हो । उनीहरुलाई अहिले क्वारेन्टाईनमा राखेर पछि मात्रै घर पठाईने भएको छ । डिस्चार्ज भएकाहरुलाई १४ दिनसम्म रानी स्थित मस्जिदको क्वारेन्टाइनमा राखिने छ ।
कोरोना संक्रमणपछि गत बैशाख ५ र ६ गते उनीहरुलाई अस्पतालमा भर्ना गरिएको थियो । अब कोशी अस्पतालमा अझै २५ जनाको उपचार जारी रहेको अस्पतालले जनाएको छ ।
उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा भने रिपोर्ट पोजेटिभ आए पछि थप उपचार जारी छ । उनीहरुको पनि श्वास्थ्य सामान्य रहेको अस्पतालको भनाई छ ।
अस्पतालले १३ जना संक्रमित अस्पताल भर्नापछिको १४ दिनमा पहिलो स्वाब गत शुक्रबार संकलन गरेको थियो । पहिलो स्वाबमा ६ जनामा नेगेटिभ र ७ जनामा पोजेटिभ देखिएको थियो ।
सामान्य अवस्था रहिरहे १४ दिनपछि एउटा आरडिटी परीक्षण गरेर उनीहरुलाई कोरोना मुक्त भएको प्रमाण पत्र दिए पछि उनीहरु घर जान पाउने छन् ।
अस्पतालबाट डिस्चार्ज गरिएका विरामीलाई विदाई तथा शुभकामना दिन आउनु भएका प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुनः संक्रमण देखिने क्रम बढेका कारण डिस्चार्जपछि सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्न आवश्यक रहेको बताउनुभयो ।
भारतीय नागरिकहरु भएका कारण पूर्ण रुपमा आराम भएपछि र बन्दाबन्दीको अवस्था अन्त्य भईसकेपछि मात्रै पठाइने मन्त्री घिमिरेको भनाई थियो ।
डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहनु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले जानकारी दिनुभयो ।