बैशाख २३ बारा । बाराको बलिरामपुरका नेपाली किशानलाई भारतीय सुरक्षाबल एसएसबीले कुटपिट गरेको छ ।
एसएसबीको उक्त दमनको बिरुद्ध नेपालीहरु जम्मा भएर बिरोध गरे पछि केही भारतीय नागरिकसगँ समेत झडप भएको खबर छ ।
विश्रामपुर गाउँपालिका ४ बलिरामपुरका छोटेलाल साहलाई सीमा क्षेत्रमा किन आएको ? भन्दै एसएसबीले कुटपिट गरेको थियो ।
कुटाइमा परेका साहलाई छोडाउने क्रममा सहदेवा महदेवाका भारतीय समेत आएर एसएसबीसँगै बलिरामपुरका स्थानीयहरु माथि आक्रमण गरेका थिए ।
झडपमा परि बलिरामपुरका दिपनारायण साह, प्रदीप साह, राजु साह, कनेल पासवान, हिरालाल शर्मा, दीपक शर्मा, सरोज महतो, अशोक साह, गरि एक दर्जन जति घाइते भएको बलिरामपुर प्रहरी चौकीले जनाएको छ ।
सोमबार बेलुका पनि दशगजामा रहेको खेतमा काम गर्न गएको बलिरामपुरकै अर्का श्याम प्रसादलाई समेत भारतीय सीमा सुरक्षा बलपले कुटपिट गरेको वडा अध्यक्ष यादवले बताए ।
नेपालीलाई आफ्नै खेतमा आएर एसएसबीले कुटपिट गर्न थाले पछि पनि नेपाली सुरक्षाकर्मीले वास्ता नगरेको गुनासो स्थानीयको छ ।
बिश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल पालले सीमा क्षेत्रमा नेपाली पक्ष कुटिए पनि नेपाली सुरक्षाकर्मीहरुले वास्ता नगरेको बताए ।