विपन्नलाई दिने भनिएको राहतमा धनी मान्छेको पनि नाम परेको भन्दै लाहानमा स्थानीयद्धारा ढुंगामुडा, प्रहरीद्धारा हवाई फायर

विपन्नलाई दिने भनिएको राहतमा धनी मान्छेको पनि नाम परेको भन्दै लाहानमा स्थानीयद्धारा ढुंगामुडा, प्रहरीद्धारा हवाई फायर

  • सोमवार, बैशाख २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

बैशाख २३ लाहान । लकडाउन’को मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर गर्नु परेको थियो ।

राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर पार्न तीन राउण्ड हवाई फायर र आधा दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । झडपका क्रममा चार जना स्थानीयवासी सामान्य घाइते भएको र उहाँहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

मिर्चैया नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेश गरी राहत वितरण गर्न थालेकाले विरोधमा उत्रेका स्थानीयवासी रामेश्वर यादवले बताउनुभयो । वडाध्यक्ष यादवले मनोमानी ढङ्गले विपन्नको नामावली सङ्कलन गरेर राहत वितरण गर्न थालेको विरुद्धमा स्थानीयवासी ओर्लिएपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको उहाँको भनाइ छ । यता वडाध्यक्ष यादवले कुनै पूर्वाग्रह नराखी निष्पक्ष तरिकाले वास्तविक विपन्न, गरिब परिवारलाई राहत वितरण गर्न खोज्दा राजनीतिरुपमा विवाद सिर्जना गर्न खोजिएको बताउनुभयो । यसअघि मिर्चैया नगरपालिकाको अन्य वडामा पनि राहत वितरण गर्ने क्रममा विवाद भएको थियो ।

यस्तै सिरहाको सुखीपुर नगरपालिका– २ मा पनि राहत विरतणका क्रममा आइतबार झडप भएको थियो । वडाध्यक्ष भुपनेश्वर यादवले राहत वितरण गर्नेको सूचीमा आफ्ना आसेपासेको नाममा मात्र समावेश गरेको भन्दै राहत वितरणमा अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरवितर पारेको थियो ।

म्याद गुज्रेको मैदासहित व्यापारी पक्राउ

मुलुकमा जारी लकडाउनको मौका छोपी म्याद गुज्रेको मैदा बिक्री गरिरहेको अवस्थामा सिरहाको लहानबाट संयुक्त अनुगमन टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको छ ।

म्याद गुज्रेको मैदा बिक्री वितरण भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेको २८ बोरा मैदासहित मुन्धडा इन्टरप्राइजेजका सञ्चालक पवन मुन्धडालाई पक्राउ गरेको हो ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव कमलराज भण्डारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले म्याद गुज्रेको मैदासहित मुन्धडालाई पक्राउ गरेको राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रमानन्द गुप्ताले जानकारी दिनुभयो । पक्राउ परेका मुन्धडालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिनुभयो ।

यसअघि सदरमुकाम सिरहामा कालोबजार गरेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै वन कर्मचारीको गस्ती टोलीले सिरहाको लहान नगरपालिका–१७ स्थित राजदेवी सामुदायिक वनभित्र अवैधरुपमा कटान गरिएको साखु तथा खयरका काठ दाउरा बरामद गरेको छ ।

अवैधरुपमा काठ दाउरा कटान गरिरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले साखु र खयर जातको काँचो काठ दाउरा कटान गरिएको अवस्थामा बरामद गरेको हो । गस्ती टोलीलाई देखेपछि तस्कर फरार भएको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ