वैशाख २१, काठमाडौँ । कोरोना भाइरसको संक्रमण भएर निको भएका युवालाई एक सातापछि आइतवार पुनः अस्पताल भर्ना गरिएको छ ।
रौतहट, इशनाथ नगरपालिकाका १९ वर्षीय युवक एक साता अघि निको भएर घर फर्किएका थिए । शनिबार राति साढे ७ बजेतिर उनलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।
कोरोना संक्रमण पोजिटिभ देखिएपछि रौतहटका युवकले गत वैशाख १ देखि नारायणी अस्पतालको आइसोलसन वार्डमा उपचार गराएका उनी र तीन भारतीय मुस्लिम धर्म प्रचारक गत आइतबार निको भएर डिस्चार्ज भएका थिए ।
अस्पतालका अनुसार वैशाख १० र १३ मा कोभिड–१९ परीक्षण नेगेटिभ आएपछि वैशाख १४ मा डिस्चार्ज गरिएको थियो । डिस्चार्जपछि ती युवक एक सातादेखि घरमा आफन्तसँग बस्दै आएका थिए । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपरेकाले आइसोलेसन वार्डमा ल्याइएको बताए ।