एमसीसी ईन्डोप्यासीफिककै अंग भएको नेकपा कार्यदलको निष्कर्षःप्रदीप ज्ञवालीको फरक मत

एमसीसी ईन्डोप्यासीफिककै अंग भएको नेकपा कार्यदलको निष्कर्षःप्रदीप ज्ञवालीको फरक मत

  • शुक्रबार, बैशाख १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं १९ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलले इन्डोप्यासिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंग भएको निश्कर्ष निकालेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदनमा एमसीसी कम्प्याक्टका ११ बुँदा संशोधन गर्न सुझाव दिइएको छ । प्रतिवेदनको बुँदा नम्बर १४.६ मा भनिएको छ, ‘अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा रणनीतिको एउटा महत्वपूर्ण बुँदाको रुपमा हिन्द प्रशान्त रणनीति ल्याइएको देखिन्छ भने यि सबै रणनीतिको अंगको रुपमा एमसीसी अन्तर्गतको कार्यक्रम सञ्चालन गरिएको देखिन्छ ।’

‘एमसीसीको कार्यक्रम आर्थिक योजनासंग सम्बन्धित देखिए पनि यो अमेरिकी सरकारको सुरक्षा लक्ष्य र कार्यक्रमसंग घनिष्ट रुपमा जोडिएको देखिन्छ’ कार्यदलले प्रतिवेदनमा भनेको छ । कार्यदलले एमसीसी अन्तर्गत नेपाललाई प्राप्त हुने अनुदान अमेरिकी सामरिक र रणनीतिक लक्ष्य अन्तर्गत हिन्द प्रशान्त रणनीतिसंग सम्बन्धित नभएको र नहुने कुरा सुनिश्चित हुनेगरी नेपाल र अमेरिकाका बीच औपचारिक पत्राचारद्वारा प्रष्ट गर्न सुझाव दिएको छ ।

‘कुनै पनि सैनिक वा राजनीतिक शक्ति गठबन्धनमा सामेल हुने वा कसैको सुरक्षा छाता अन्तर्गत रहने कुरा नेपालको संविधान तथा नेपाल कम्युनिष्ट पार्टीको नीति र सिद्धान्तअनुसार अमान्य छ’ प्रतिवेदनमा भनिएको छ । कार्यदलको १६ बुँदे सुझावमा एमसीसी कम्प्याक्ट जस्ताको तस्तै पारित गर्न नहुने उल्लेख छ । उसले बुँदागत रुपमा संशोधन गर्नुपर्ने बुँदाबारे उल्लेख गरेको छ ।

परराष्ट्रमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञवालीले भने प्रतिवेदनमा १५ बुँदे फरक मत राखेका छन् । एमसीसीको विषयमा अतिरञ्जित प्रचार भएको उहाको निश्कर्ष छ ।

ज्ञवालीको फरक मतमा भनिएको छ, ‘परियोजनाको सुरक्षाका नाममा अमेरिकी सेनाको प्रवेश हुने, शिविरहरु खडा हुने, यसले भूराजनीतिक द्वन्द्व सिर्जना हुने, यस परियोजनाले अन्य छिमेकी मुलुकहरुसँग नेपालले गरेका सम्झौताहरु अवरुद्ध हुने, सम्झौता अमुक सम्झौता भन्दा पनि बढी ‘राष्ट्रघाती’ भएको आदि भनेर गरिएका प्रचारहरु अतिरञ्जित, भ्रामक र दुई मुलुकबीचको सम्बन्धलाई तिक्त बनाउने गलत आशयबाट प्रेरित छन् ।’

१५–१९ माघ २०७६ मा काठमाडौंमा सम्पन्न नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले कार्यदल गठन गरेको थियो । ९ फागुनमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रारम्भिक प्रतिवेदन बुझाएको कार्यदलले ढिलो गरी प्रतिवेदन तयार पारेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ