रोल्पा, १८ वैशाख । रोल्पामा बम विस्फोटमा परेर त्रिवेणी गाउँपालिका-७ गैरीगाउँका चार बालबालिकाको मृत्यु भएको छ।
बिहीबार साँझ विस्फाेट हुँदा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्रीकाे मृत्यु भएकाे हाे ।
गाउँनजिकैको जंगलमा ग्वाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयाे । उनीहरू चारैजनाको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनु भयाे ।
विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए। युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीकाे अनुमान छ। अहिले शव घटनास्थलमै रहेकाे बताइएकाे छ ।
चारै जनाको मृत्यु भएकाले विस्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन्। बम उनीहरुले कुल्चिएर पुड्किएको हो वा भेटाएर खेलाउदा विस्फोट भएको भन्नेबारे खुलेकेा छैन । बम विस्फोट भएको घटनास्थल नजिकै अर्को एक थान बमसमेत फेला पारेको छ।
मृत्यु हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ। प्रहरी घटनास्थल प्रस्थान गरिसकेको छ। विस्फोट नभएको बम समेत रहेकाले शव उठाउन सकिएको छैन्। रातभर प्रहरीले शवको सुरक्षा दिने भएको छ।
नेपाली सेनाको डिस्पोजल टोली शुक्रबार घटनास्थल जाने छ। नपड्किएको बम डिस्पोज गरेर मात्र शव उठाइने प्रहरीले जनाएको छ। तत्कालीन विद्रोही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्धताका दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो। युद्धकैबेला छाडिएको बेवारिसे बम विस्फोट भएको हुन सक्ने प्रहरीकाे आशंका छ। बम उनीहरुले कुल्चिएर पुड्किएको हो वा के कारणले भन्ने बारे अनुसन्धान भइरहेको छ।
घटनापछि गाउँमा त्रास फैलीएकाे छ भने मृतक बालबालिकाको अभिभावक र आफन्तमा शोकमा डुबेका छन्।