१७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालयकाे बैठक बैठक बिना निष्कर्ष सकिएको छ । पार्टी भित्रको आन्तरिक समस्या, पछिल्लो राजनीतिक अवस्था, स्थाइ समित लगायतबारे बुधवारकाे बैठकमा छलफल भएपनि निश्कर्षमा भने पुग्न सकेन ।
बैठकले कुनै पनि निर्णय गर्न नसकेपछि पुनः २० गते अर्को बैठक बोलाइएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयाे । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी भित्रको आन्तरिक समस्या र स्थायी कमिटीका २० सदस्यले माग गरेको स्थायी कमिटी बैठकबारेमा छलफल भए पनि बैठक कुनै निष्कर्षविहिन बन्याे ।
बैठकपछि निर्णयबारे सुनाउदै उहाँले भन्नुभयाे, आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र, छलफल जारी छ ।’
यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको उहाँकाे भनाइ छ ।
सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ । र, आवश्यक प्रस्तावहरु तयार गर्नेछ । त्यही बैठकले नै स्थायी कमिटीको बैठकका बारेमा पनि आवश्यक निर्णय गर्ने उहाँले बताउनु भयाे ।