काठमाडौं १७ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असक्षम नालायक र निकम्मा भएको टिप्पणी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा लिखित रुपमा धारणा राख्दै पौडेलले ओली सरकारप्रति कटाक्ष गरेका हुन् ।
उनले स्वास्थ्य क्षेत्रका डाक्टर, नर्स, एम्बुलेन्स चालक र सम्बन्धित कर्मचारीहरुको सुरक्षा प्रबन्धका लागि भरपर्दा र पर्याप्त पीपीई सामान उपलब्ध गराउन नसकेको भन्दै वर्तमान सरकार दुनियाँभरै ‘बेकम्मा’ भएको बताए ।
बन्दाबन्दीका कारण रोजगारी गुमाएका, पढाई बन्द भएका र ‘बेइलम’ मा पर्नाले सहरबाट आफ्नै गाउँमा जान चाहने र बाहिरबाट काठमाडौं आउन चाहने जनतालाई बीच बाटो मै अलपत्र पारी सरकारले तमासा देखाएको टिप्पणी गर्दै पौडेलले भने, “सरकार पंगू र वेइमान हो ।”
उनले “वैदेशिक रोजगारी वा अन्य कारणले विदेशमा रहेका आ–आफ्ना नागरिकलाई त्यहाँका सरकारहरुले आफ्नै देश फर्कन जोरजुलुम गरिरहँदा वा आफ्नै आवश्यकताले स्वदेश फर्कन चाहने नागरिकहरु बारे बेखबर जस्तो भएर बस्न खोज्ने सरकार आफ्ना नागरिक प्रति असंवेदनशील सरकार हो,” भने ।
अब काँग्रेसले मात्रै देशको विकल्प दिन सक्ने पौडेलको जिकिर थियो ।