प्रधानमन्त्री र पार्टी अध्यक्ष नछाड्ने ओलीको अडान, बुधबारको सचिवालय बैठकमा गर्मागरम बहस हुने संकेत

प्रधानमन्त्री र पार्टी अध्यक्ष नछाड्ने ओलीको अडान, बुधबारको सचिवालय बैठकमा गर्मागरम बहस हुने संकेत

  • मङ्लबार, बैशाख १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

१६ बैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको हो।

मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि दुई अध्यक्षबीचको छलफल लम्बिएपछि बुधबार साँझ ५ बजेका लागि सचिवालय बैठक बस्ने जानकारी सचिवालय सदस्यलाई गराइएको हो।

तर छलफलमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न नसकिने अडान पनि लिनुभएको जनाईएको छ । पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग मंगलबार दिउँसो बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले बरु सम्भावित परिस्थितिको सामना गर्ने तर पद नछाड्ने अडान लिनुभएको हो ।
स्रोतका अनुसार दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएर अहिलेको निकास दिन आग्रह गरेपछि ओलीले आफ्नो रणनीति र अडान सुनाउनु भएको थियो ।

बैठकपछि ओली र दाहालले आफू निकट नेताहरुलाई प्रधानमन्त्री दुवै पद नछाड्ने अडानमा रहेको सुनाएका थिए । औपचारिक रुपमा नआए पनि नेकपामा दाहाल र नेपाल समूहले आन्तरिक रुपमा ओलीको राजीनामा मागेको छ । स्थायी कमिटीका एक सदस्यका अनुसार अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतको समूहले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाडेर पार्टीको अन्तरविरोधको निकास दिनुपर्ने प्रस्ताव आन्तरिक रुपमा अगाडि सारिसकेका छन्।

मंगलबारको भेटमा भेटमा ओली र दाहालले खुलस्त आ–आफ्ना कुरा राखेको र अध्यक्ष दाहालले समस्याको निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको एक नेताले बताए । बालुवाटार जानु अघि दाहालले कोटेश्वर पुगेर वरिष्ठ नेता नेपालसँग छलफल गर्नुभएको थियो ।

ओली निकट नेताले पनि प्रधानमन्त्री र पार्टी कुनै पदबाट ओलीले राजीनामा नदिने बताउनु भएको छ । बरु उहाँले आफुपक्षीय नेता तथा सांसदसँगको छलफल तिब्र बनाउनु भएको छ । ओलीले पार्टीभित्र शक्ति बाँडफाँडलाई लिएर आन्तरिक विवाद पेचिलो बन्दै गर्दा नेताहरुले आफ्नो पक्षका केन्द्रीय सदस्यदेखि सांसदसम्मलाई राजधानीमै बस्न आग्रह समेत गर्नुभएको छ ।

प्रधानमन्त्री पार्टीलाई एकताबद्ध गरेर जाने पक्षमा रहेको र त्यसकालागि हदैसम्म लचिलो देखिन तयार रहेपनि पदबाट भने नहट्ने ओली निकट नेता कर्ण थापाले बताउनु भयो । उहाँले भन्नुभयो, पार्टीलाई एकताबद्ध बनाएर जाऔ भन्दा पनि विभिन्न षड्यन्त्र गरेर केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट हट्नुस् भन्नु र हटाउन खोज्नु भनेको मतलब पार्टी फुटाउनु हो, त्यसकारण उहाँले प्रधानमन्त्री र अध्यक्ष छोड्ने भन्ने हुँदैन, त्यो संभावना पनि छैन । बरु सबै षडयन्त्रविरुद्ध लड्नु हुन्छ ।’

ओलीको यो अडान र आफु निकट केन्द्रीय सदस्य र सांससदलाई काठमाडौं नछाड्न दिएको निर्देशनले बुधबारको बैठकमा गर्मागरम बहस हुने संकेत देखिएको छ ।

निकासको विषयमा दुवै अध्यक्षबीच कुरा नमिलेपछि बाँकी छलफलका लागि बुधबार सचिवालय बैठक बोलाउने विषयमा भने सहमति भएको हो ।

दाहालसँग भेटवार्ता सकिएलगत्तै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई बोलाएर बैठकका एजेन्डाबारे जानकारी गराउनुभएके थियो । पौडेल ओली र दाहाल समूहबीच सोमबार भएको वार्तामा पनि सहभागी हुनुहुन्थ्यो । बुधबार पाँच बजेलाई सचिवालय बैठक तय भएको छ ।

अध्यादेश प्रकरणले विवाद उत्कर्षमा पुगेपछि दाहाल–नेपाल समूहका २० स्थायी कमिटी सदस्यले हस्ताक्षरसहितको पत्र लेखेर स्थायी कमिटी बैठकको माग गरेका थिए । पार्टी्भित्रै दबाबमा परेका ओलीले यसलाई आलटाल गर्दै आएका छन् ।

बरु, अप्ठ्यारोमा परेका प्रधानमन्त्री ओलीले पछिल्ला केही दिनयता वरिष्ठ नेता नेपाल समूहलाई फकाउने कोसिसमा लाग्नुभएको थियो तर नेता नेपालले सुरु देखि नै राख्दैआएको प्रधानमन्त्री या पार्टी अध्यक्ष मध्ये एक पद ओलीले छाड्नुपर्ने अडान दोहोर्याएपछि सहमती हुन सकेन ।

बालुवाटारमा प्रधानमन्त्री ओली र नेता नेपालबीच ’वान टु वान’ वार्ता असफल भएपछि आफु निकटका नेताहरुलाई कोटेश्वर पठाएर नेता नेपाललाई मनाउने ओलीको प्रयास विफल भएको थिायो । बरु कोटेश्वर बैठकको छलफलमा नेपाल समूहले स्थायी कमिटी बैठक बसेर छलफल गरिनुपर्ने माग गरेको छ ।

बुधबार सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत र्पुयाउन मंगलबार साँझ आफू निकट र अन्य समूहका सांसदहरुलाई बोलाएर छलफल गर्नुभएको थियो । पार्टी संसदीय दलमा बहुमत रहेको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले अहिले आफु अल्पमतमा परेपछि पार्टीभित्र छलफल तिब्र बनाउनु भएको हो ।
ओलीले मंगलवार पनि दुवै तिरका सांसदलाई रिजाउने प्रयासमेत गर्नुभएको छ । उहाँले आफुले प्रधानमन्त्री र अध्यक्ष पद नछाड्ने तर पार्टी्भित्रको आन्तरिक विवादलाई समाधान गर्न मन्त्रिपरिषद् सदस्यको हेरफेरदेखि मुख्यमन्त्री परिवर्तनसम्मका प्रस्ताव अघि सार्नुभएको छ ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले भने पार्टी र सरकारको काममा समन्वय नभएको भन्दै छुट्टै मोर्चाबन्दीमा छन् । अहिले दुवै पक्षले सांसदलाई बोलाएर पार्टीको लाइन प्रष्ट पार्न अनुरोध गरिरहेका छन्। पार्टी भित्रको आन्तरिक संघर्षले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम र नियन्त्रणको विषय भने ओझेल पर्ने देखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ