काठमाडौँ बैशाख १६ । पछिल्लो समय अध्यादेश र सांसद अपहरण भनिएको घटना प्रकरण पछि बढेको नेकपा भित्रको बिबाद मिलाउने प्रयास स्वरुप नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल जारी छ ।
दुई अध्यक्षबीच विवाद मिलाउने र बैठक बसाउने बिषयमा केन्द्रीत छलफल चलिरहेको बताईएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष ओली बैठक राख्न तयार नभएको भन्दै २० स्थायी समिति सदस्यले लिखित रुपमा बैठक राख्न माग गरे पनि अहिले सम्म बैठक बस्न सकेको छैन ।
अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने माग बढे पछि झनै बैठक राख्न नमानेको नेताहरुको बुझाई छ ।
नेकपाभित्र दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब दिइरहेका र प्रधानमन्त्री ओलीले यसलाई आलटाल गर्दै आएका बेला दुई नेताबीच भएको वार्तालाई चासोका साथ हेरिएको छ। यद्यपि सोमबार ओली र नेपाल समूहका नेताहरुको वार्तामा मंगलबार सचिवालय बैठक बोलाउने अनौपचारिक समझदारी भएको थियो। तर, मंगलबार दिउँसोसम्म बैठक अनिश्चित छ।
स्थायी कमिटीको बैठकमा सरकार र पार्टी कामको समीक्षासहित नेतृत्व हेरफेरको मुद्दा उठान हुने गरि नेकपाभित्र राजनीतिक घटनाक्रम विकसित हुँदै आएका छन्।
चैत्र ८ मा जारी भएका दुई अध्यादेशपछि नेकपा विवाद नयाँ मोडमा आएको थियो । यद्यपि विवादपछि दुवै अध्यादेश फिर्ता भइसकेका छन् ।