वैशाख १५, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले पुरानै अडान दोहोर्याएपछि सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीसमुहसँगको छलफलमा कुनै सहमती जुट्न सकेन । करिब तीन घण्टा कोटेश्वरमा भएको दुई समुहबीचको छलफलमा नेता नेपालले एक व्यक्ति, एक पदको नीति दृढतापूर्वक लागु गर्ने अडान लिएपछि कुनै समहति जुट्न नसकेको हो ।
बालुवाटारमा बिहान प्रधानमन्त्री ओली र नेता नेपालको वान टु वान वार्ता सकिएलगत्तै नेपालसहितका नेताहरु दोस्रो वर्तामा बसेका थिए। दुई समूहको उक्त छलफललाई अर्थपूर्ण रुपमा हेरिएको थियो। तर नेपाल समूहले पार्टीभित्र एक व्यक्ति एक पद सिद्धान्तमा रहेर केपी ओलीले प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने पुरानै अडान दोहोर्याएपछि ओली समूहले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेको थियो ।
यो सँगै ओलीको नेपाल समूहलाई फकाउने बालुवाटारको प्रयास असफल भएको छ। राजनीतिक र शक्तिबाँडफाँडका विषयमा कुनै सहमति नभएको बैठकमा सहभागी एक नेताले बताए ।
विवादास्पद राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सांसद डा.सुरेन्द्र यादवको अपहरण भनिएको काण्डपछि पार्टीभित्र अफट्यारोमा परेका प्रधानमन्त्री ओलीले नेता नेपाल समूहलाई फकाउने कोशिस गरेका थिए । त्यसका लागि ठोस प्रस्ताव ल्याउन नेपाल समूहको माग थियो । आजको छलफलमा ‘पावरसियरिङ्’मा सहमति नजुटेको एक नेताले बताए ।
दुई समुहबीच तीन घण्टासम्म छलफल गर्दापनि कुनै निश्कर्ष निस्कन नसकेपछि सचिवालय बैठक बस्ने विषयमा अनौपचारिक सहमती गरेर नेताहरु बाहिरिएका थिए । बैठकमा सहभागी नेपाल समूहका नेता रघुजी पन्तले मंगलबार सचिवालय बैठक बस्ने अनौपचारीक सहमति भएको जानकारी दिनुभयो ।
नेता पन्तका अनुसार मंगलबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकबारे निर्णय गर्नेछ।
सरकारका र पार्टीका कामको विना पूर्वाग्रह समीक्षा गरेर अहिलेको समस्याको निकास खोज्नु पर्ने जनाउँदै उहाँले भन्नुभयो, ‘निकास पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको हैसियतमा उहाँले दिने हो। गतिरोध टुंग्याउने ढंगले निकास दिनुपर्छ भन्ने कुरा भयो ।’
छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुनुभएको थियो भने नेपालका तर्फबाट नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तको उपस्थिती थियो ।
पार्टीलाई एकताबद्ध गर्न कहाँ के कमजोरी भएका छन् भन्ने कुरा औल्याएर समाधान गर्ने उद्देश्यले बैठक माग गरेको जानकारी दिदैँ अर्का नेता रावलले भन्नुभयो, जे जे गर्नुपर्छ बैठकमै गरौं भन्यौं,भोली नै सचिवालयको बैठक र पर्सी स्थायी कमिटी बैठक गरौं। त्यहाँ खुलस्त छलफल गरौं। त्यही निष्कर्ष निकालौं। भनेर छलफलबाट बाहिरिएका हौ । ’
नेता रावलले नीतिगत कुरामै छलफल भएको जनाउदैँ बैठकमा अर्को समूहका नेताहरुबाट कुनै प्रस्ताव नआएको पनि सुनाउनु भयो ।
कोटेश्वरमा नेपाल र ओलीसमूहबीच छलफल चलिरहँदा खुमलटारमा प्रचण्ड, झलनाथ खनाल र वामदेव गौतमबीच छलफल भएको थियो। कोटेश्वरमा नेपाल र ओली समूहको निष्कर्षपछि खुमलटार छलफलले थप रणनीति बनाउने निष्कर्ष निकालेको स्रोतको दाबी छ।
वरिष्ठ नेता खनालले पनि सोमबार दिउसो अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर सचिवायल बैठक बोलाउन आफूले माग गरेको बताउनु भएको थियो ।
उहाँले भन्नुभयो, ‘मैलै अध्यक्ष प्रचण्डलाई सचिवालय बैठक माग गरेर आएको छु । तर, के हुन्छ थाहा छैन।’
यसअघि नै पुष्पकमल दाहाल र माधव नेपाल समूहका २० स्थायी कमिटि सदस्यले स्थायी कमिटी बैठक बोलाउन लिखित माग गरिसकेका छन्। विधानतः एकचौथाइ सदस्यले बैठक माग गरेको १५ दिनभित्र बोलाउनुपर्ने हुन्छ। तर ओली बैठक बोलाउने पक्षमा छैनन् किनकी उनी स्थायी समितिमा स्पष्ट अल्पमतमा छन्।
नेकपाको ४४ सदस्यीय स्थायी समितिमा प्रचण्ड र नेपाल समूहका ३२ सदस्य छन्। ओली पक्षमा जम्मा १२ जना मात्रै छन्। ओली पक्षमा ईश्वर पोखरेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवासचन्द्र नेम्बाङ मात्रै छन्। ओली निकट महासचिव विष्णु पौडेल पनि पछिल्लो समय मझधारको भूमिकामा देखिएका छन्। अध्यादेश ल्याउँदा प्रधानमन्त्री निकटकै परराष्ट्रमन्त्रीसमेत रहेका प्रदिप ज्ञवाली विपक्षमा देखिएका थिए।
ओलीलाई कमजोर बनाएर आफ्नो समूह बलियो बनाउनका लागि प्रचण्डले कहिले वामदेव गौतम निवास भैंसेपाटीमा त कहिले नेता नेपाल निवास कोटेश्वरमा छलफल तीब्र पारेका थिए। केही दिन अघि वामदेव निवास भैंसेपाटीमा बहुमत सचिवालयसँग छलफल गरेर ओलीलाई अल्पमत पारेका प्रचण्डले आइतबार मात्रै नेपाल निवास कोटेश्वरमा छलफल गरेर ओलीलाई आफु बलियो भएको सन्देश दिएका थिए।
प्रचण्डले छलफल तीब्र पारेपछि ओली समूहले पनि पोखरेलको नेतृत्वमा छलफललाई तीब्र पारेको छ । केही दिनअघिदेखि नेपाल र वामदेव समूहसँग ओली समूहले निरन्तर छलफल गरिरहेका छ। सो छलफलमा वरिष्ठ नेता झलनाथ खनाल भने प्रचण्ड समूहतिर साथ दिइरहेका छन्। भैंसेपाटी छलफलबाट स्थायी कमिटीको बैठक बोलाउनुपर्ने निष्कर्ष प्रचण्ड समूहको थियो। आइतबार कोटेश्वर र खुमलटारमा भएको दुवै बैठकले ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिएको थियो।
ओलीलाई वरिष्ठ नेता नेपाललाई मनाउनु अहिले आफुलाई अल्पमतबाट जोगिनु एक मात्रै विकल्प जस्तै देखिएको छ । तर उनका लागि नेपाललाई मनाउनु फलामको चिउरा चपाउनु जस्तै छ । किनकी नेपाल पक्षले पार्टीमा एक व्यक्ति एक पद को सर्तमा शुरुदेखि नै राख्दै आएको र ओलीले त्यसलाई अस्वीकार गर्दै आएका थिए । नेपाललाई मनाउन ओली समूहले सहमति गरेमा ओलीले समेत कि प्रधानमन्त्री कि अध्यक्ष पद छाड्नुपर्ने अवस्था हुन्छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ काम मुख्यमन्त्री शंकर पाखरेललाई समेत नेपाल समूहको उक्त सर्त कार्यन्वयन भएमा झड्का लाग्नेछ।