वैशाख १४, काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायविरुद्ध आज थुनछेक बहस हुँदै छ । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध जथाभावी लेखेको आरोपमा प्रहरीले पूर्वसचिव उपाध्यायमाथि विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको छ ।
जिल्ला अदालत काठमाडौंमा दायर आरोपपत्रमा उपाध्यायमाथि एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद मागदाबी गरिएको छ ।
नजिबुल्लाह अन्सारीले गृह मन्त्रालयमा दिएको निवेदनका आधारमा उपाध्यायमाथि मुद्दाको प्रक्रिया अघि बढेको जिल्ला अदालत स्रोतले बतायो। तर अन्सारी को हुन् र उपाध्यायले सामाजिक सञ्जालमा के लेखेका कारण उनी पीडित भए भन्ने खुल्दैन। अन्सारीको निवेदन गृह मन्त्रालयले प्रहरीमा पठाएको थियो।
पूर्वसचिव उपाध्यायसहित ११ जना संलग्न भएको भनी निवेदन परे पनि प्रहरीले भने उनलाई मात्रै मुद्दा चलायो। पछिल्लो सातामा पोस्ट गरेका चारवटा विषयवस्तुलाई आधार मानेर उपाध्यायसँग बयान भएको उनका एक कानुन व्यवसायीले बताए।
आरोपपत्रमाथि आज सोमबार नै बयान भएर थुनछेक बहस हुनेछ।