वैशाख १४, काठमाडौँ ।
झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । डा. अधिकारीले झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भयो । उनी अहिले अस्पतालको निगरानीमा छन् । यसअघि झापाको दमकका एक जनामा संक्रमण देखिएको थियो । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइराखेको छ ।
यसअघि आइतबार नै टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो। १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । हालसम्म १६ जना निको भएर घर फर्किसकेका छन् ।
आइतवार वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत थप चारजना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोभिड–१९ सङ्क्रमितको उपचारपछि स्वस्थ भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार कोभिड–१९ का सङ्क्रमित ५२ मध्ये १६ जना घर फर्किएको र ३६ जना बिभिन्न अस्पतालमा उपचाररत छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । हाल धनगढीमा एक, वीरगञ्जमा तीन, भरतपुरमा एक र विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।
यस्तै हालसम्म कूल ५१ हजार ३६७ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआर प्रविधिबाट नौ हजार ९३१ र ¥यापिड डाइग्नोस्टिक टेष्ट प्रविधिबाट ४१ हजार ४३६ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई हजार ९६ जनाको थप परीक्षण गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार ३०८ परीक्षण गरिएको छ । प्रदेश नं २ मा कूल पाँच हजार १४१, वाग्मती प्रदेशमा कूल सात हजार ५९१ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा कूल चार हजार ९२४, प्रदेश नं ५ मा तीन हजार ३२६, कर्णाली प्रदेशमा चार हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा कूल ११ हजार १७२ नमूना परीक्षण गरिएको छ ।
हालसम्म कूल १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कूल ११० जना आइसोलेशनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा छ र बाहिर १०४ रहेका छन् । पछिल्लो २४ घण्टामा मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कूल दुई हजार ७१ जनाले फोन सम्पर्क गरेका थिए । उक्त फोन सम्पर्कलाई सम्बन्धित चिकित्सकले आवश्यक समाधान गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।
हालसम्म मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एपमा कूल २६ हजार ८१० जनाले स्वमूल्याङ्कन फाराम भरेकोमा ६ जनाको अवस्था जोखिमपूर्ण देखिएकाले टे«सिङ गर्ने कार्य जारी रहेको छ । भने कूल ‘रेड जोन’ मा २९६ जना रहेका छन् ।
प्रदेश नं २ का आठै जिल्लामा परीक्षणको दायरा विस्तार गर्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ । यो प्रदेशमा एक हजार ५०० जनाको परीक्षण गर्ने लक्ष्य लिइएकामा हालसम्म एक हजार २७ जनाको नमूना सङ्कलन भइसकेको छ ।
यस्तै प्रदेश नं १ मा ४१३ को परीक्षण भएको र ३३७ जनाको नमूना सङ्कलन गरिएको जनाइएको छ । झापाको दमका एक सङ्क्रमित देखिएसँगै उनीसँगको संसर्गमा रहेका ५० भन्दा बढीको नमूना सङ्कलन भइसकेको मन्त्रालयका प्रवक्ता देवकोटाले बतउनुभयो । उहाँले कोभिडको उपचारमा आवश्यक जनशक्ति र अपर्याप्त स्रोत साधनबीच पनि सरकारले जोखिम न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयो ।
यसैबीच, विश्वभरका बालबालिकामा कोभिड–१९ को सङ्क्रमण कम पाइएको छ । नेपालमा पनि बालबालिकामा कोभिड–१९ को जोखिम कम रहेको कान्ति बाल अस्पतालका निर्देशक कृष्ण पौडेलले बताउनुभयो । उहाँले हालसम्म १८ वर्षका दुई र सो उमेरभन्दा मुनिका एक जनामा सङ्क्रमण देखिए पनि उनीहरू उपचारपछि घर फर्किसकेको बताउनुभयो ।
कान्ति बाल अस्पतालमा हालसम्म कोभिडको सम्भावित १६ जना बालबालिकाको नमूना परीक्षण गरिएकामा सबै नेगेटिभ नतिजा आएपछि घर फर्काइएको निर्देशक पौडेलले जानकारी दिनुभयो ।